१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार o६:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज ६ प्रदेशका धेरै ठाउँमा वर्षा हुने, काठमाडौंको झरी कायमै

आइतबारबाट मौसममा सुधार आउन सक्ने आकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o६:४३:oo

आज ६ प्रदेशका धेरै ठाउँमा वर्षा हुने छ । बिहीबारदेखिको वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा आगामी आइतबारसम्म कायमै रहनेछ । तर, आइतबारबाट भने मौसममा सुधार आउन सक्ने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ । सुदूरपश्चिममा भने केही स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारीको चेतावनी दिइएको छ । राति बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आकलन छ ।

आइतबार भने शुक्रबार र शनिबारको तुलनामा कम वर्षा हुने देखिन्छ । बागमती, गण्डकी, लुम्बिनी केही स्थान तथा बाँकीका एक–दुई स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।

बिहीबार र शुक्रबार कोशीदेखि लुम्बिनी क्षेत्रमा धेरै पानी परेको छ । मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहानसम्म सबैभन्दा धेरै वर्षा झापाको केचनामा २३० मिलिमिटर भएको छ । बिहीबार रातिदेखिको वर्षा हेर्दा पश्चिममा अर्घाखाँची, कपिलवस्तुसम्म झरी परेको देखिन्छ । शुक्रबार राति साढे ९ बजेसम्मको तथ्यांक हेर्दा झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा २९८.६, इलाममा २९७, ललितपुरको लेलेमा १९४.४, मकवानपुरको दामनमा २०८, चितवनको कल्याणपुरमा १७७, नवलपरासीको डन्डामा २०५.४, पाल्पामा २३४.८ र अर्घाखाँचीमा १९५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 

२४ घण्टामा ६ लाखलाई बाढीको मोबाइल एसएमएस
जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा ६ लाखलाई बाढीको सचेतनामूलक एसएमएस पठाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सुनित अधिकारीका अनुसार बिहीबार साँझदेखि शुक्रबार रातिसम्म नेपाल टेलिकम र एनसेलमार्फत तीन–तीन लाख एसएमएस पठाइएको हो । विभागले बिहीबार साँझ र राति कोशी प्रदेशका झापा, मोरङ र सुनसरी क्षेत्रमा धेरै एसएमएस पठाएको थियो भने शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नदीतटीय क्षेत्रमा एसएमएस पठाइएको हो । ‘हामी नदीको जलसतह र वर्षा अनुगमन गरिरहेका हुन्छौँ, नदीमा जलसतह मापदण्ड खतराको तह पुग्ने अवस्था भए, वर्षा कायमै भए तटीय क्षेत्रमा एसएमएस पठाउँछौँ,’ अधिकारीले भने, ‘एसएमएस पठाउँदा त्यस क्षेत्रमा २४ घण्टाको अवधिमा कनेक्ट भएका नेटवर्क हेरिन्छ । त्यस्तो तथ्यांक एनटिसी र एनसेलबाट उपलब्ध हुन्छ । सिस्टमबाट हामी एसएमएस पठाउँछौँ ।’

बागमती नदीमा बाढीको जोखिम रहेको भन्दै विभागले शुक्रबार दिउँसो २ बजे एसएमएस पठाएको थियो । साँझ बागमतीको जलसतह खतराभन्दा माथि पुगेको थियो । विभागले ०७३ बाट नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरेर बाढी पूर्वानुमानको एसएमएस पठाउँदै आएको छ । यसमा दुवै सेवाप्रदायक कम्पनीले निःशुल्क सेवा दिइरहेका छन् ।