१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार o६:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जोखिम टार्न कुलेखानी पूर्ण क्षमतामा चलाइयो, सिमखोलाको पानी पनि डाइभर्ट 

ड्यामको ढोका खोल्नुपर्ने स्थिति छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o६:३५:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनाको इन्द्रसरोवर ड्यामको (बाँध) पानी बढ्न नदिन पूर्ण क्षमता (६० मेगावाट)मा विद्युत् उत्पादन थालिएको छ । ड्याममा मिसिने सिमखोलाको पानी पनि डाइभर्ट गरेर खोलामै बगाइएको छ । 

जलाशययुक्त रहेको यो आयोजना हिउँद र सुक्खायाममा मात्र सञ्चालन गरिने भए पनि पानीको बहाव थप बढ्न नदिन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो । यद्यपि, विद्युत्को माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यकताअनुसार आयोजना चलाइन्छ । यसअघि बिहीबारसम्म तीन दिन आयोजना पूर्ण रूपमा बन्द थियो । 

‘शुक्रबार हरेक तीन घण्टामा एक मिटरका दरले इन्द्रसरोवर भरिन थालेको थियो । अझै पानी पर्ने भनिएको छ । ओभरफ्लो हुने जोखिम बढेपछि आयोजना चलाएका हौँ,’ कुलेखानी जलविद्युत् १ का प्रमुख तारादत्त भट्टले भने । ड्यामको पानी ओभरफ्लो हुने जोखिम भएपछि सिमखोलाको पानी पनि डाइभर्ट गरिएको भट्टले बताए । यो खोलाको पानी सुरुङमार्फत ल्याएर ड्याममा जम्मा गरिन्छ । तर, सुरुङ बन्द गरेर खोलामै बगाइएको हो । ‘यसले ड्याममा आउने पानीमध्ये १०–१५ प्रतिशतसम्म कम गरेको छ,’ भट्टले भने, ‘सिमखोलाको पानी डाइभर्ट र आयोजना पूर्ण क्षमतामा चलाएर २५ प्रतिशतसम्म पानी व्यवस्थापन (कम) गरिएको छ ।’

ड्याममा बिहीबारसम्म प्रतिदिन तीन–चार सेन्टिमिटिरका दरमा मात्र पानीको सतह बढेको थियो । तर, झरीसँगै शुक्रबार बिहान प्रतिघण्टा पाँच सेन्टिमिटर दरमा पानीको सतह बढ्यो । शुक्रबार दिउँसो प्रतिघण्टा ३० सेन्टिमिटर दरमा पानीको सतह बढन थालेपछि ओभरफ्लोको त्रास बढेको हो । यद्यपि, शुक्रबार राति पानीको बहाव वृद्धिदर प्रतिघण्टा २० सेन्टिमिटरमा झरेको छ ।

कुलेखानीको ड्याम भरिन थालेपछि शुक्रबार इन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरण र कुलेखानी आयोजनाले नै सूचना जारी गरेर बागमतीसहित नदीकिनारका बस्तीका बासिन्दालाई सतर्क रहन आह्वान गरेका थिए । पानी ओभरफ्लो भएमा सिस्नेरी हुँदै बागमती नदीमा मिसिन्छ । ड्यामको पानी बाहिर आएमा इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ तथा कुलेखानी नदीआसपासको क्षेत्रमा जोखिम हुन्छ । यसले एक्कासि बाढी आउन सक्ने जोखिम रहन्छ । ०३८ देखि सञ्चालनमा रहेको कुलेखानीको ड्याम पछिल्लोपटक ०७८ र ०७९ मा भरिएको थियो । 

ड्यामको ढोका खोल्नुपर्ने स्थिति छैन
ड्यामले ६ करोड २३ लाख क्युबिक मिटर पानी सञ्चय गर्न सक्छ । तर, ड्यामको सतहमा बालुवासमेत भरिएकाले त्यति मात्रामा पानी सञ्चय हुँदैन । भट्टका अनुुसार शुक्रबार साँझसम्मकै अनुपातमा पानी थपिएमा ड्यामको ढोका खोल्नुपर्दैेन । ‘क्लाउडब्रस्ट नै भएमा ड्यामको ढोका खोल्नुपर्ने हुन सक्छ । तर, अहिलेकै अवस्थामा ड्यामको ढोका खोल्नुपर्छजस्तो लाग्दैन । ओभरफ्लोकै संरचनाबाट बढी भएको पानी पठाउन सकिन्छ,’ उनले भने ।