१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार o६:२३:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजधानी जोड्ने राजमार्ग अवरुद्ध 

बाढीपहिरोका कारण राजधानी जोड्ने बिपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथमा शुक्रबार आवागमन बन्द

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o६:२३:oo

बाढीपहिरोमा दुईको मृत्यु, तीन बेपत्ता । आइतबारबाट मौसममा सुधार आउन सक्ने आकलन

  • बाढीपहिरोमा परी काभ्रे र इलाममा एक–एकजनाको मृत्यु 
  • खोलाले बगाउँदा झापामा दुई र वनस्थलीमा एक बेपत्ता
  • त्रिशूलीले टिपर र एक्स्काभेटर बगायो
  • कुलेखानी ड्याम भरियो, तटीय क्षेत्रमा खतरापहिरोको जोखिमले 
  • पृथ्वी राजमार्गमा आज बिहानसम्म गाडी चलाउन रोक
  • २४ घण्टामा ६ लाखलाई बाढीको मोबाइल एसएमएस
  • हेटौँडालाई काठमाडौं जोड्ने तीन सडक अवरुद्ध
  • राप्ती राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
  • खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

दसैँका लागि सरकारले शनिबारबाट सार्वजनिक यातायातको अग्रिम टिकट खोेल्ने तयारी गरेका वेला पहिरोले राजधानीसँग जोडिएका राजमार्ग अवरुद्ध बनेका छन् । प्रहरीका अनुसार राजधानी जोड्ने बिपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथमा बाढीपहिरोका कारण शुक्रबारबाट सवारीसाधन चल्न सकेका छैनन् । 

बिपी राजमार्ग (बर्दीबास–सिन्धुली–खुर्काेट–धुलिखेल)को काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा अवरुद्ध भएको छ । चारसय बेँसीमा सडकमाथिबाट लेदो खसेको हो भने भ्याकुरे खोलामा बाढीले ह्युमपाइप बगाएको छ । काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाडौं जोड्ने सडकका विभिन्न स्थानमा सडकमाथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।

पहिरोले बकैया गाउँपालिका– ११ आँपचौर र लाम्राङमा कान्ति लोकपथ अवरुद्ध बनेको छ भने भीमफेदी गाउँपालिका– ४ रातोमाटेमा पहिरो खस्दा भीमफेदी–कुलेखानी–फाखेल सडक पनि सुचारु हुन सकेको छैन । कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकको इन्द्रसरोवर गाउँपालिका– ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ । 

त्यस्तै, पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिन–पोखरा) धादिङस्थित सिद्धलेक गाउँपालिकाका सलाङमा खसेको पहिरो शुक्रबार राति साढे १२ बजेसम्म पन्छाउन सकिएको थिएन । यही राजमार्गको नागढुंगा–नौबिसे सुरुङमार्गको तल्लो प्रवेशद्वारनजिकै लेदोसहितको पहिरो खस्दा शुक्रबार तीन घण्टा सडक ठप्प रह्यो । बिहीबार धादिङको गल्छीमा पहिरोले कार बगाइदिएको थियो । चाडपर्वका वेला राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भए पनि पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले राति गाडी चलाउन रोक लगाउन थालेका छन् ।

काठमाडौं प्रशासनले शुक्रबार थानकोट हुँदै बाहिरने सवारीसाधन कलंकी, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको हो । गृह मन्त्रालयले रेड अलर्ट जारी भएका जिल्लामा शनिबार रातिसम्म रात्रिबस चलाउन रोक लगाए पनि काठमाडौं र चितवनमा अत्यावश्यक सवारी (एम्बुलेन्स, शववाहन, दमकललगायत)बाहेक भने नजिकको प्रहरीसँग समन्वय गरेर गुडाइएको छ । 

२८ असारमा नारायणगढ–मुग्लिन सडकको सिमलतालमा रातिमा पहिरोले दुई बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो । सोही घटनापछि सरकारले रेड अलर्ट जारी भएका (मौसम पूर्वानुमान महाशाखाले धेरै वर्षा हुने भनी उच्च जोखिममा राखेका) जिल्लामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउँदै आएको छ । तर, पृथ्वी राजमार्ग सडक पहिरोको उच्च जोखिममा रहेकाले प्रशासनले मालवाहक र निजी गाडी पनि सञ्चालनमा रोक लगाएको हो । गृह मन्त्रालयले शनिबार रातिसम्मका लागि पहाडी र हिमाली गरी ४२ जिल्लामा रात्रिबस चलाउन रोक लगाइसकेको छ ।

काठमाडौंसँग जोडिएका मात्र होइन अन्य क्षेत्रमा पनि सडक अवरुद्ध बनिरहेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १० बर्खेटारमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार दिउँसो पहिरो खसे पनि वर्षाका कारण सडक खुलाउन कठिनाइ भएको कोशी प्रदेश प्रहरीले जनाएको छ । मनाङमा डुम्रे–बेँसीसहर–चामे सडक पनि पहिरोले अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तङ–राम्दी–स्याङ्जा–पोखराको पाल्पा खण्ड अवरुद्ध बनेको छ । 

त्यस्तै, सडक भासिएपछि राप्ती राजमार्गको कपुरकोट–राम्री सडकखण्डमा तीन दिनका लागि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पहिरोले सडक भासिनुका साथै क्षतिग्रस्त भएपछि सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि भन्दै शुक्रबारदेखि आइतबारसम्म उक्त सडकखण्डमा तीन दिनका लागि टिपर, ट्रक सञ्चालनमा रोक लगाएको हो । भारवहन गाडीलाई रोक लगाए पनि अन्य गाडी भने सुचारु रहने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् । 

बाढीपहिरोमा दुईको मृत्यु, तीन बेपत्ता
बाढीपहिरोमा परी काभ्रे र इलाममा एक/एकजनाको मृत्यु भएको छ । झापामा दुई र काठमाडौं बालाजुमा एकजना मोटरसाइकल चालक बेपत्ता भएका छन् । काभ्रेको बेथानचोक गाउँपालिका– ५ च्याल्टीमा ढिस्कोले पुरिएर शुक्रबार स्थानीय ४५ वर्षीय प्रेमबहादुर वाइबाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका– ५ का वडाध्यक्ष राजकुमार वाइबाका अनुसार घर जाने क्रममा खोल्सीनजिकै ढिस्को खसेर बाटोमा आउँदा वाइबा पुरिएका हुन् । 

इलामको माई नगरपालिका– ८ मा सेते खोलाले बगाउँदा स्थानीय ६८ वर्षीय मैतेबहादुर लिम्बूको ज्यान गएको छ । शुक्रबार खोला तर्ने क्रममा बगेका उनलाई स्थानीयले उद्धार गरेका थिए । तर, उपचारका लागि झापा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

काठमाडौंको बालाजुमा भचाखुसी खोलाले बा प्र ०२ –०१८ प २९७३ नम्बरको मोटरसाइकलका चालक राजन श्रेष्ठलाई बगाएको छ । भचाखुसी खोलामा उनको मोटरसाइकल खसेकोमा मोटरसाइकल भेटिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, काठमाडौं– १६ वनस्थली ढुंगेधारास्थित नालाले रविन चक्रधरले चलाएको बा.४८प ७३४९ नम्बरको बुलेट मोटरसाइकल बगाएको हो । चालक चक्रधरसहित मोटरसाइकल खसेकोमा उनको उद्धार भएको छ । 

त्यस्तै, झापामा खोलाले बगाउँदा दुई बेपत्ता भएका छन् । कचनकवल गाउँपालिका– १ मा जमुवा खोलाले बगाउँदा १४ वर्षीया नेहेरिका राजवंशी बेपत्ता भएकी छिन् । चमरभित्ताबाट आफ्नो घर झकुवा टोल जाँदै गर्दा उनलाई खोलाले बगाएको झापा प्रहरीले जनाएको छ । त्यस्तै, कमल गाउँपालिका– १ मा किस्ने खोलाले बगाउँदा स्थानीय ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् । उनलाई शुक्रबार साँझ माछा मार्ने क्रममा खोलाले बगाएको हो ।

आज ६ प्रदेशका धेरै ठाउँमा वर्षा हुने, काठमाडौंको झरी कायमै, आइतबारबाट भने मौसममा सुधार आउन सक्ने आकलन

बिहीबारदेखिको वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा आगामी आइतबारसम्म कायमै रहनेछ । तर, आइतबारबाट भने मौसममा सुधार आउन सक्ने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ । सुदूरपश्चिममा भने केही स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारीको चेतावनी दिइएको छ । राति बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आकलन छ ।

आइतबार भने शुक्रबार र शनिबारको तुलनामा कम वर्षा हुने देखिन्छ । बागमती, गण्डकी, लुम्बिनी केही स्थान तथा बाँकीका एक–दुई स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।

बिहीबार र शुक्रबार कोशीदेखि लुम्बिनी क्षेत्रमा धेरै पानी परेको छ । मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहानसम्म सबैभन्दा धेरै वर्षा झापाको केचनामा २३० मिलिमिटर भएको छ । बिहीबार रातिदेखिको वर्षा हेर्दा पश्चिममा अर्घाखाँची, कपिलवस्तुसम्म झरी परेको देखिन्छ । शुक्रबार राति साढे ९ बजेसम्मको तथ्यांक हेर्दा झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा २९८.६, इलाममा २९७, ललितपुरको लेलेमा १९४.४, मकवानपुरको दामनमा २०८, चितवनको कल्याणपुरमा १७७, नवलपरासीको डन्डामा २०५.४, पाल्पामा २३४.८ र अर्घाखाँचीमा १९५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 

२४ घण्टामा ६ लाखलाई बाढीको मोबाइल एसएमएस
जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा ६ लाखलाई बाढीको सचेतनामूलक एसएमएस पठाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सुनित अधिकारीका अनुसार बिहीबार साँझदेखि शुक्रबार रातिसम्म नेपाल टेलिकम र एनसेलमार्फत तीन–तीन लाख एसएमएस पठाइएको हो । विभागले बिहीबार साँझ र राति कोशी प्रदेशका झापा, मोरङ र सुनसरी क्षेत्रमा धेरै एसएमएस पठाएको थियो भने शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नदीतटीय क्षेत्रमा एसएमएस पठाइएको हो । ‘हामी नदीको जलसतह र वर्षा अनुगमन गरिरहेका हुन्छौँ, नदीमा जलसतह मापदण्ड खतराको तह पुग्ने अवस्था भए, वर्षा कायमै भए तटीय क्षेत्रमा एसएमएस पठाउँछौँ,’ अधिकारीले भने, ‘एसएमएस पठाउँदा त्यस क्षेत्रमा २४ घण्टाको अवधिमा कनेक्ट भएका नेटवर्क हेरिन्छ । त्यस्तो तथ्यांक एनटिसी र एनसेलबाट उपलब्ध हुन्छ । सिस्टमबाट हामी एसएमएस पठाउँछौँ ।’

बागमती नदीमा बाढीको जोखिम रहेको भन्दै विभागले शुक्रबार दिउँसो २ बजे एसएमएस पठाएको थियो । साँझ बागमतीको जलसतह खतराभन्दा माथि पुगेको थियो । विभागले ०७३ बाट नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरेर बाढी पूर्वानुमानको एसएमएस पठाउँदै आएको छ । यसमा दुवै सेवाप्रदायक कम्पनीले निःशुल्क सेवा दिइरहेका छन् ।

त्रिशूलीले टिपर र एक्स्काभेटर बगायो
गोरखास्थित त्रिशूली नदीले तीन टिपर, दुई एक्स्काभेटर र एउटा लोडर बगाएको छ । ती टिपर र एक्स्काभेटर गोरखाको गण्डकी गाउँपालिका– १ बुटारमा निर्माणाधीन सय मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका हुन् । जलविद्युत् आयोजना निर्माणका लागि त्रिशूली नदीलाई दुई भँगालो बनाएर काम भइरहेको थियो । तर, शुक्रबार बाढी उर्लिँदा भँगालो बगाएपछि सवारीसाधन बगाएको हो । चालकसहित कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । 

झरीले डुबानको चपेटामा उपत्यकाका बस्ती 
बिहीबारदेखि निरन्तरको झरीले काठमाडौं उपत्यकाका बस्ती डुबानमा परेका छन् । बागमती र सहायक नदीआसपासका तथा पानीको निकास नभएका बस्ती डुबानमा परेका हुन् । खोकना क्षेत्रमा बागमती नदीको पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ । त्यस क्षेत्रमा पानीको बहाव चार मिटर पुग्दा सतर्कता तह पार हुन्छ, तर शुक्रबार साँझ ५.०८ मिटर पुग्यो, जसकारण तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् । उपत्यकामा सबैभन्दा बढी वर्षा ललितपुरको लेलेमा २०४.८ मिलिमिटर भएको छ । उपत्यकामा बागमती नदी खोकना र गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क क्षेत्रमा उर्लिएर बस्तीमा पसे । विष्णुमती, हनुमन्ते, धोबीखोला तथा नक्खु खोलाआसपासका बस्तीमा पनि पानी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर ठुलो क्षति भएको प्रहरीले जनाएको छ । ललितपुरको इमाडोल क्षेत्रमा करिब ७० घर डुबानमा परेका छन् । 

ललितपुरको कुसुन्ती क्षेत्रमा पनि धेरै घरमा पानी पसेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले बताए । सम्भावित क्षति रोक्न जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उनले जनाए । 

ललितपुरको गोदावरी नगरपालिका– ६ लप्सेमा पहिरोले बा.८६प ६१७ नम्बरको मोटरसाइकल पुरिँदा चालक राजु थिङ घाइते भएका छन् । ललितपुरको बागमती गाउँपालिका– ३ भट्टेडाँडामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

ललितपुर महानगरपालिका– १८ आदिनाथमार्गस्थित नक्खु खोला र बागमती खोलाको दोभानमा घर डुबानमा परेपछि प्रहरीले घरभित्र रहेकी लक्ष्मी मगरलाई उद्धार गरेको छ । कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ । अन्य सहायक मार्ग पनि बाढी तथा पहिरोका कारण अवरुद्ध भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यका खोलाकिनारमा पानीको सतह बढेपछि प्रहरीले रातको समयमा खोलाआसपासको सडक प्रयोग नगर्न आग्रह गरेको थियो ।

काठमाडौंको झरी आज पनि कायमै रहने
मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंको झरी शनिबारसम्मै कायम हुने देखिन्छ । ‘हामीले रेड अलर्ट जारी गरेका ठाउँ (काठमाडौं र अन्य क्षेत्रमा) वर्षा हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘उपत्यकामा त शनिबार पनि झरी नै रहने सम्भावना छ ।’ शनिबार पनि देशभर वर्षा हुने देखिए पनि आइतबार बिहानदेखि पनि कम हुने आकलन गरिएको छ । 

जोखिम टार्न कुलेखानी पूर्ण क्षमतामा चलाइयो, सिमखोलाको पानी पनि डाइभर्ट 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनाको इन्द्रसरोवर ड्यामको (बाँध) पानी बढ्न नदिन पूर्ण क्षमता (६० मेगावाट)मा विद्युत् उत्पादन थालिएको छ । ड्याममा मिसिने सिमखोलाको पानी पनि डाइभर्ट गरेर खोलामै बगाइएको छ । 

जलाशययुक्त रहेको यो आयोजना हिउँद र सुक्खायाममा मात्र सञ्चालन गरिने भए पनि पानीको बहाव थप बढ्न नदिन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो । यद्यपि, विद्युत्को माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यकताअनुसार आयोजना चलाइन्छ । यसअघि बिहीबारसम्म तीन दिन आयोजना पूर्ण रूपमा बन्द थियो । 

‘शुक्रबार हरेक तीन घण्टामा एक मिटरका दरले इन्द्रसरोवर भरिन थालेको थियो । अझै पानी पर्ने भनिएको छ । ओभरफ्लो हुने जोखिम बढेपछि आयोजना चलाएका हौँ,’ कुलेखानी जलविद्युत् १ का प्रमुख तारादत्त भट्टले भने । ड्यामको पानी ओभरफ्लो हुने जोखिम भएपछि सिमखोलाको पानी पनि डाइभर्ट गरिएको भट्टले बताए । यो खोलाको पानी सुरुङमार्फत ल्याएर ड्याममा जम्मा गरिन्छ । तर, सुरुङ बन्द गरेर खोलामै बगाइएको हो । ‘यसले ड्याममा आउने पानीमध्ये १०–१५ प्रतिशतसम्म कम गरेको छ,’ भट्टले भने, ‘सिमखोलाको पानी डाइभर्ट र आयोजना पूर्ण क्षमतामा चलाएर २५ प्रतिशतसम्म पानी व्यवस्थापन (कम) गरिएको छ ।’

ड्याममा बिहीबारसम्म प्रतिदिन तीन–चार सेन्टिमिटिरका दरमा मात्र पानीको सतह बढेको थियो । तर, झरीसँगै शुक्रबार बिहान प्रतिघण्टा पाँच सेन्टिमिटर दरमा पानीको सतह बढ्यो । शुक्रबार दिउँसो प्रतिघण्टा ३० सेन्टिमिटर दरमा पानीको सतह बढन थालेपछि ओभरफ्लोको त्रास बढेको हो । यद्यपि, शुक्रबार राति पानीको बहाव वृद्धिदर प्रतिघण्टा २० सेन्टिमिटरमा झरेको छ ।

कुलेखानीको ड्याम भरिन थालेपछि शुक्रबार इन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरण र कुलेखानी आयोजनाले नै सूचना जारी गरेर बागमतीसहित नदीकिनारका बस्तीका बासिन्दालाई सतर्क रहन आह्वान गरेका थिए । पानी ओभरफ्लो भएमा सिस्नेरी हुँदै बागमती नदीमा मिसिन्छ । ड्यामको पानी बाहिर आएमा इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ तथा कुलेखानी नदीआसपासको क्षेत्रमा जोखिम हुन्छ । यसले एक्कासि बाढी आउन सक्ने जोखिम रहन्छ । ०३८ देखि सञ्चालनमा रहेको कुलेखानीको ड्याम पछिल्लोपटक ०७८ र ०७९ मा भरिएको थियो ।