१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
२o८१ असोज ७ सोमबार o८:२९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक महिनाभित्र २५५.५ मेगावाटका तीन ठुला सरकारी जलविद्युत् सञ्चालनमा आउँदै

यी परियोजना सञ्चालनमा आएपछि विद्युत् प्राधिकरणको जडित क्षमता ३५ सय ५५ मेगावाटभन्दा माथि पुग्ने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o८:२९:oo

आगामी एक महिनामा २५५.५ मेगावाट क्षमताका तीन ठुला सरकारी जलविद्युत् परियोजना सञ्चालनमा आउने भएका छन् । एक सय दुई मेगावाटको मध्यभोटेकोशी, एक सय ११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् सञ्चालन आउन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका तीन परियोजना एक महिनाभित्र सञ्चालनमा आउने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । ‘यी परियोजना सञ्चालनमा ल्याउन अहिले अन्तिम चरणका कामहरू भइरहेका छन् । एक महिनामा तीनैवटा परियोजना सञ्चालनमा आउनेछन्,’ उनले भने ।

अहिले राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्जडित क्षमता करिब ३३ सय मेगावाट छ । यी तीन परियोजना सञ्चालन आएपछि जडित क्षमता ३५ सय ५५ मेगावाटभन्दा माथि पुग्नेछ । यद्यपि, यस अवधिमा निजी र सरकारी साना परियोजना पनि सञ्चालनमा आउन सक्ने प्रवक्ता घोषको भनाइ छ । 

सिन्धुपाल्चोकमा रहेको एक सय दुई मेगावाटको मध्यभोटेकोशीलाई एक महिनाभित्र  सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । यस परियोजनाको निर्माण ०७० मै सुरु भएको थियो । ०७३ भित्र यो परियोजना सञ्चालनमा ल्याउने लक्ष्य थियो । तर,  जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायतका कारणले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो । तर, हाल आयोजना निर्माणतर्फ करिब सबै काम सम्पन्न भइसकेको छ । 

आयोजनातर्फ बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटरखण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार गरिएको छ । हाल सुरुङ सफा गर्ने काम भइरहेको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने प्राधिकरणले जानकारी दिएको छ । 

विद्युत्गृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनासाथ उपकरणहरूको ‘वेट टेस्ट’ सुरु हुनेछ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

परियोजनामा जोडिने प्रसारणको निर्माणमा १४ महिनादेखि देखिएको अवरोध पनि हटेको छ । यद्यपि, परियोजनाको विद्युत् प्रवाह गर्न वैल्किपक व्यवस्था भइसकेको छ । दुई सय केभी प्रसारणलाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर एक सय ३२ केभी प्रसारणलाइनबाट प्रवाह गरिनेछ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारणलाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दसैँअगाडि सम्पन्न गर्ने गरी काम भइरहेको छ । 

सोही प्रसारणलाइनबाट मध्यभोटेकोशीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारणलाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ ।

यस्तै, बाह्रबिसे नगरपालिका– ५ स्थित आयोजनाको विद्युत्गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारणलाइनमध्ये दुई किलोमिटर निर्माणमा १४ महिनापछि सहमति जुटेको छ । गत भदौ १३ गते स्थानीयसँग अवरोध हटाउने सहमति भइसकेको छ । स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । दुई सय २० केभी सिंगल सर्किट प्रसारणलाइनको तार तान्ने काम दसैँअगाडि सकिनेछ । 

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ । २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।यसैबिच राज्यमन्त्री पूर्णबहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ अर्ब रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । 

चालू आवमा एक हजार मेगावाट विद्युत् थपिने 
प्राधिकरणले चालू आवमा एक हजार मेगावाट विद्युत् थपिने अनुमान गरेको छ । चालू आवको बजेटमा पनि सोहीबराबरकै विद्युत् प्रणालीमा थपिने घोषणा गरिएको छ । प्राधिकरणका प्रवक्ता घोषले चालू कम्तीमा पनि एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने बताए । निजी र सरकारी स्वामित्वका गरेर सोबराबरको विद्युत् थपिने अनुमान गरेको उनको भनाइ छ ।

रसुवागढी र सान्जेन पनि सञ्चालनको अन्तिम तयारीमा 
प्राधिकरणका अनुसार एक सय ११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् परियोजना पनि एक महिनाभित्र सञ्चालनमा आउँदै छन् । सन् २०१३ मै सुरु गरिएका दुवै परियोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादनको पखाईमा छन् । तर, प्रसारणलाइन नबन्दा यी दुवै परियोजना सञ्चालनमा आउन सकेका छैनन् । यी परियोजनासहित त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माण हुने जलविद्युत् परियोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारणलाइन निर्माणका अन्तिम चरणका काम भइरहेका छन् । 

प्रसारणलाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैँअगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । प्रसारणलाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारणलाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब दुई सयजना श्रमिक परिचालित छन् । उत्तरगया गाउँपालिका–१, तिरुबाट सोही वडाको सिरुचेतसम्म एक हजार दुई सय ३५ मिटर लम्बाइमा तार तान्नुपर्नेछ । मैलुङ खोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तान्ने काम भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारणलाइन निरन्तरको प्रयासपछि सम्पन्न हुने अवस्था पुगेको बताए । अब उक्त दुई परियोजना सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । 

‘यो लाइन बन्न नसक्दा यी दुई जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन् । तर, यो लाइनको निर्माण अब छिट्टै सकिँदै छ । दसैँअगाडि जसरी पनि प्रसारणलाइन निर्माण सम्पन्न हुन्छ,’ उनले भने, ‘त्यसपछि रसुवागढी र सान्जेन जलविद्युत् परियोजना सञ्चालनमा ल्याउन सकिन्छ ।’ रसुवागढीबाट वार्षिक ६१३.८७ गिगावाट घण्टा र सान्जेनबाट वार्षिक  २५१.९४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । रसुवागढीको लागत १८ अर्ब रुपैयाँ र सान्जेनको लागत पाँच अर्ब दुई करोड रुपैयाँ छ ।