१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ७ सोमबार १o:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेफरद्वारा होलस्टिन बाच्छी हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १o:१o:oo

हेफर इन्टरनेसनलले सिन्धुलीको कमलामाई नगरपालिकामा स्थानीय किसानलाई होलस्टिन प्रजातिका ११ वटा गाईका बाच्छी वितरण गरेको छ । हेफर इन्टरनेसनलले स्थापनाको ८० वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बाच्छी हस्तान्तरण गरेको हो । सरकारसँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको हेफरले नेपालको दुग्ध क्षेत्रलाई पूर्ण रूपमा रूपान्तरण गरी आधुनिक बनाउने लक्ष्य लिएको जनाएको छ । परियोजनाको साझेदारमा दक्षिण कोरियाले एक सयवटा होलस्टिन गाई र आठवटा साँढे उपहार दिएको थियो । 

कार्यक्रमलाई बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले मिल्की वे कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण भएको बताए । उनले भने, ‘हामी यो पहलको हिस्सा हुन पाउँदा गर्व गर्छौँ, जसले हाम्रो दुग्ध किसानको जीवन परिवर्तन गर्दै छ ।’ हेफरको नारा ‘पासिङ अन द गिफ्ट’अनुसार किसानले पहिलोपटक जन्मेका बाच्छी अन्य किसान परिवारलाई हस्तान्तरण गर्नुपर्छ ।

हेफर इन्टरनेसनलकी सिइओ सुरिता सन्दोसमले हेफरको ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको गहिरो प्रभावलाई सम्झना गरिन् । हेफर नेपालका कन्ट्री डाइरेक्टर तीर्थराज रेग्मीले हेफरकै सहयोगले नेपालबाट दुग्धजन्य प्रडक्ट निर्यात सुरु भएको र खसी–बोकाको मासुमा पनि आत्मनिर्भर भएको बताए । हेफरको एसिया प्रोग्रामकी सिनियर भाइस प्रेसिडेन्ट नीना जोशीले कुनै पनि संस्थाको ८० वर्षको यात्रा साधारण नभएको बताइन् । ‘हेफरले एक सय २५ देशमा चार करोड परिवारमा सहयोगी हात बढाएको छ,’ उनले भनिन् । 

कमलामाईका मेयर उपेन्द्र पोखरेलले कोरियाली गाई आएपछि आफ्नो नगरपालिकामा दुध उत्पादन दोब्बरले बढेको बताए । उनले भने, अघिल्लो वर्ष २७ हजार लिटर दुध उत्पादन भएकोमा बढेर ५५ हजार लिटर पुगेको छ ।’ सिन्धुलीको कमलामाईमा मिल्की वे परियोजनाका साझेदारले एउटा ‘मोडेल डेरी भिलेज’ स्थापना गरेका छन् । त्यहाँ ५१ स्थानीय किसानलाई ८० वटा होलस्टिन जातका गाई उपलब्ध गराइएको छ । मिल्की वे परियोजनाले नेपालमा पाँच लाख साना किसान परिवारमा पुग्ने र जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको छ । १४ जुलाई  १९४४ मा ड्यान वेस्टद्वारा स्थापित हेफर इन्टरनेसनलले १७ गाई सिपमेन्ट अलाबामाबाट पुएर्टो रिको पठाएर गरिब समुदायको जीवन सुधार गर्न सुरु गरेको थियो ।