‘जितिया पावैन बड्ड भारी,
धियापुताके ठोइक सुताबे,
अपना खाय भइर (भरि) थारी’
जितिया पर्व सुरु भएसँगै मिथिलाञ्चलमा यतिखेर यो गीत गुञ्जयमान भएको छ। सन्तानको दीर्घायुको कामना गर्दै मिथिलामा सोमबारदेखि विधिवत् रूपमा जितिया पर्व सुरु भएको हो। मधेशका विशेषगरी थारू र मैथिली समुदायले विशेष महत्त्वका साथ यो पर्व मनाउने गर्छन्। थारू जातिका आमाहरूले आ–आफ्ना सन्तानको दीर्घायु एवं मंगलमय कामनाका लागि मनाउने गर्छन्।
व्रतालु महिलाले सोमबार पोखरी, तलाउ, जलाशयमा नुवाइधुवाई गरी औपचारिक रूपमा व्रतको सुरुवात गरेका छन्। मंगलबार बिहान ओठगन अर्थात् दही, च्युरा, चिनी, केरा, मिठाई इत्यादि जिमुतवाहनलाई चढाएर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। यस वर्ष मंगलबार दिनभरि र बुधबार ५ बजेसम्म उपवास बस्नुपर्ने समय निर्धारण गरिएको छ।
विगतका वर्षहरूभन्दा यो वर्ष उपवासको समय लामो रहेको पण्डित रामकुमार शास्त्रीले जानकारी दिए। यो पर्वमा लामो उपवास बस्नुपर्ने भएकाले व्रत सुरु हुनुभन्दा केही समयअघि इच्छाअनुसार खानाको विभिन्न परिकार बनाएर खाने गरिन्छ। पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने कठोर विधान रहेको बताइन्छ। विशेष श्रद्धाभक्ति तथा निष्ठापूर्वक मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु महिलाहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गर्नुका साथै घेराको पातमा खली र तेल चढाउने गरिन्छ। सोही दिन राति १२ बजेको समयपछि बिहानको समयमा व्रतालु महिलाहरूले आँगनमा घेराको पातमा दही, चिउरा, चिनी, केरा आदि फलफूलसमेतको प्रसाद ‘जिमुतवाहन’लाई चढाउने गर्छन्। प्रसाद ग्रहण गरेपछि परिवारका बालबालिकाका साथै सम्पूर्ण सदस्यहरू दही–च्युरा, मिठाई, फलफूललगायतका भोजन गर्ने गर्छन्।
मध्यरात्रिपछिको समयमा ग्रहण गरिने खानेकुरालाई ‘ओटघन’ भनिन्छ। लामो निराहारपछि व्रतको तेस्रो दिन अर्थात् नवमीका दिन बिहान पोखरी तलाउमा गई दही, केरा आदिको प्रसाद चढाएर विधिवत् रूपमा पर्वको बिदाइ गरिन्छ। तत्पश्चात् मात्र व्रतालु महिलाले भोजन ग्रहण गर्ने धार्मिक मान्यता रहँदै आएको छ। लामो उपवासपछि ग्रहण गरिने भोजनलाई पारन भनिन्छ। थारू समुदायका महिलाले भने यो पर्वलाई थप महत्त्वका साथ मनाउने गर्छन्। थारू महिलाले माइत गएर पर्वलाई हर्षोल्लासका साथ मनाउँछन्। व्रत बसेको समयमा अनिवार्य जितवाहनको कथा सुन्नुपर्ने मान्यता छ।
पर्वका अवसरमा विभिन्न गाउँहरूमा मूर्तिसमेत बनाएर पूजाआजा गर्ने गरिन्छ। यो पर्वमा गाई, परेवा, काग, कुकुर, हाँस, मुसोलगायतका जनावरहरूको पूजाआजासमेत गर्ने परम्परा छ। मैथिल तथा थारू समुदायमा विशेष महत्त्वका साथ मनाइने यो पर्वमा चिल र स्यालको पूजा गरिन्छ।