१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असोज ६ आइतबार o७:२७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रीहरू भैँसेपाटी सरेपछि पुल्चोकको मन्त्री क्वार्टर खाली हुँदै 

दसैँअघि नै सर्वोच्चका पाँच न्यायाधीश पुल्चोक क्वार्टरमा सर्दै 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:२७:oo

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरबाट अधिकांश मन्त्री भैँसेपाटी सरिसकेका छन् । मन्त्रीहरू भैँसेपाटी सरेकाले पुल्चोकको क्वार्टरमा सर्वोच्च अदालतका न्यायाधीशलाई राख्ने तयारी गरिएको छ । 

भैँसेपाटीको क्वार्टरमा बस्न मिल्ने भएपछि वैशाखदेखि नै मन्त्रीहरूले पुल्चोक क्वार्टर छाड्न थालेका थिए । पुल्चोकको क्वार्टरमा १९ वटा ब्लक छन् । क्वार्टरबाट अब चारजना मन्त्री मात्रै सर्न बाँकी छ । शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, वन तथा वातावरण राज्यमन्त्री रूपा विक र पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी अझै त्यहीँ छन् । भैँसेपाटीको क्वार्टरमा फिनिसिङको काम भइरहेकाले उनीहरू सर्न ढिलो भएको हो ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर उमेशकुमार चौधरीले भैँसेपाटीको क्वार्टरमा फिनिसिङको काम सकिनेबित्तिकै बाँकी चार मन्त्रीले पुल्चोक क्वार्टर छाड्ने जानकारी दिए । उनका अनुसार मन्त्रीहरूले छाडेपछि सो क्वार्टरमा न्यायाधीशहरूलाई राख्ने तयारी छ । ‘पहिलो चरणमा पाँचजना न्यायाधीश यहाँ बस्नुहुन्छ, उहाँहरूले दसैँअघि नै बस्न आउँछौँ भन्नुभएको छ,’ उनले भने, ‘कतिपय ब्लक मर्मत पनि गर्नुपर्ने भएकाले मर्मतपछि मात्रै अन्य न्यायाधीशहरू आउनुहुनेछ ।’ 

चौधरीका अनुसार हाल मन्त्री क्वार्टर भैँसेपाटी सरेपछि त्यहाँको सुरक्षा अंगदेखि कर्मचारी तथा हेरचाहका कामदारसमेत भैँसेपाटी सरेका छन् । हाल पुल्चोकको क्वार्टर गेटमा चारजना सुरक्षाकर्मी छन् । क्वार्टरभित्र सुनसान बनेको छ । सरसफाइ गर्ने दुई–तीनजना मात्रै कर्मचारी छन् । अन्य कर्मचारी र सुरक्षाकर्मी भैँसेपाटी सरिसकेका छन् । 

पुल्चोक क्वार्टरमा न्यायाधीश बस्न आएपछि सुरक्षा तथा अन्य व्यवस्थापन कसरी र क्वार्टर कुन निकायअन्तर्गत रहने भन्ने अन्योल रहेको इन्जिनियर चौधरीले बताए । उनका अनुसार अब संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय पनि भैँसेपाटी सर्ने तयारीमा छ । त्यसभन्दा अघि पाँचजना न्यायाधीश आउने भएकाले क्वार्टर व्यवस्थापन गर्न लागिएको चौधरीले बताए । ‘अब हाम्रो कार्यालय भैँसेपाटी सर्छ, तत्काल सर्न लाग्नुभएका न्यायाधीशका लागि व्यवस्थापन गर्छौँ, त्यसपछि बाँकी व्यवस्थापनको काम सरकारले निर्णय गरेपछि मात्रै हुनेछ,’ उनले भने, ‘अहिले क्वार्टर सुनसान बनिसकेको छ, केही दिनमै चारजना मन्त्रीज्यू पनि भैँसेपाटी सर्नुहुन्छ ।’ उनका अनुसार पुल्चोक क्वार्टरमा सर्न लागेका न्यायाधीशका लागि सामान नयाँ किन्ने कि पुरानै प्रयोग गर्ने भन्नेबारे अन्योल छ । 

अच्युत कुइँकेल प्रवक्ता, सर्वोच्च अदालत
सुरक्षा व्यवस्था हालकै निरन्तरता हुने जानकारी प्राप्त भएको छ, न्यायाधीशहरूको आ–आफ्नै सुरक्षागार्ड पनि हुनुहुन्छ । अन्य व्यवस्थापनबारे अझै ठोस निर्णय भएको छैन ।

गत १० फागुन ०७९ मा मन्त्रिपरिषद् बैठकले पुल्चोकबाट मन्त्रीहरू भैँसेपाटी क्वार्टर सरेपछि सो क्वार्टर सर्वोच्चका न्यायाधीश र मुख्य रजिस्ट्रारलाई दिने निर्णय गरेको थियो । हाल सर्वोच्चका न्यायाधीशले आवासको व्यवस्था आफैँ गरेका छन् । प्रधानन्यायाधीशको छुट्टै सरकारी निवास छ । अन्य २० जना न्यायाधीश र मुख्य रजिस्ट्रारलाई राख्न निवास छैन । पुल्चोकमा रहेको मन्त्री क्वार्टरमा १९ जना न्यायाधीश अट्नेछन् भने अन्य दुईजनाका लागि ठाउँ अपुग हुने देखिएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले पाँचजना न्यायाधीश सर्ने तयारी भइरहेको बताए । उनले सुरक्षा व्यवस्थाका लागि हालकै अवस्थामा प्रबन्ध मिलाइने र न्यायाधीशहरूको आ–आफ्नै सुरक्षागार्ड पनि हुने भएकाले समस्या नहुने उनले बताए । ‘सुरक्षा व्यवस्था हालकै निरन्तरता हुने जानकारी प्राप्त भएको छ, न्यायाधीशहरूको आ–आफ्नै सुरक्षागार्ड पनि हुनुहुन्छ,’ उनले भने, ‘अन्य व्यवस्थापनबारे अझै ठोस निर्णय भएको छैन ।’ पुल्चोकको क्वार्टर सुनसान बने पनि भैँसेपाटीमा भने चहलपहल बढेको छ । अधिकांश मन्त्रीहरू क्वार्टरमा सरिसकेकाले आगन्तुक पनि भैँसेपाटी क्वार्टरमै पुग्ने गरेका छन् । सरकारले २४ मन्त्री र राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि भैँसेपाटीमा क्वार्टर निर्माण गरेको हो । 

यी हुन् दसैँअघि पुल्चोक क्वार्टरमा सर्न लागेका पाँच न्यायाधीश 
पुल्चोकको क्वार्टरमा दसैँको साइत पारेर पाँचजना न्यायाधीश सर्दै छन् । जसमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी र कुमार चुडाल छन् । उनीहरूले दसैँको साइतमा सर्ने भन्दै क्वार्टर मर्मत र सरसफाइ गर्न सहरी विकास मन्त्रालयलाई जानकारी गराइसकेका छन् । तर, सहरी विकासले अधिकांश क्वार्टर मर्मत गर्नुपर्ने भन्दै न्यायाधीशहरूलाई ०४५ मा निर्माण भएको ‘बी’ ब्लकको ‘डी वान’देखि ‘डी फाइभ’सम्म राख्ने तयारी गरेको छ । यी भवन तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छैनन् । तर, ०२८ मा बनेका अन्य ब्लक भने मर्मतसम्भार गर्ने तयारी भएको छ ।