१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ असोज ५ शनिबार o६:२२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टीकापुरको १२० कित्ता जग्गा हिनामिनामा १३७ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीको सिफारिस, सिआइबीले विस्तृत अनुसन्धान नै गरेन

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o६:२२:oo

०२८ मा प्लटिङ गरेर बसाइएको कैलालीको टीकापुर । टीकापुर विकास समितिमातहतको जग्गा पदाधिकारी र कर्मचारीको मिलेमतोमा हिनामिना भएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा चलाइसकेको छ । उनीहरूले ०५९ सालमा मालपोत कार्यालयका कागजपत्र जलेकामा धेरैले आफ्नोसमेत जग्गा रहेको दाबी गर्दै जग्गा विकास समितिको नक्कली निस्सा बनाएर अनियमितता गरेका छन् । सिआइबीले किर्तेमा मुद्दा चलाउन सिफारिस गरेको छ । 

कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको १२० कित्ता जग्गा हिनामिनामा १३७ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालय, कैलालीमा बुझाएको छ । 

एआइजी दीपक थापा, निर्देशक, सिआइबी 
टीकापुर नगर विकास समितिको निस्सा किर्ते बनाएर १२० कित्ता जग्गा हिनामिना भएको देखियो । यसमा १३७ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेका छौँ । 

जग्गा हिनामिनामा अख्तियारले भ्रष्टाचार कसुरमा यसअघि नै मुद्दा चलाइसकेकामा प्रहरीले सरकारी कागजपत्र किर्तेमा अनुसन्धान गरेको हो । अख्तियारको अनुसन्धानमा आधारित भएर गरिएको अनुसन्धानमा किर्तेमा संलग्न १३७ जनाको संलग्नता देखिएकाले अभियोजनका लागि रायसहितको प्रतिवेदन बुझाइएको सिआइबीका निर्देशक एआइजी दीपक थापाले बताए । ‘टीकापुर नगर विकास समितिको निस्सा किर्ते बनाएर १२० कित्ता जग्गा हिनामिना भएको देखियो,’ उनले भने, ‘यसमा १३७ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेका छाैँ ।’ प्रहरीले जग्गा हिनामिनामा संलग्न कसैलाई पनि पक्राउ भने गरेको छैन । 

जिल्ला सरकारी वकिल कार्यालय कैलालीका जिल्ला न्यायाधिवक्ता लक्ष्मीनारायण दाहालले प्रहरीबाट आएको अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको बताए । 

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी २४९ जनाविरुद्ध भ्रष्टाचार कसुरमा २५ माघ ०८० मा दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । अख्तियारकै पत्रका आधारमा सिआइबीले गत वैशाखमा अनुसन्धान थालेको थियो । 

अख्तियारले भन्दा विस्तृत अनुसन्धान गरेन सिआइबीले
टीकापुर नगरपालिका– १ टीकापुर विकास समितिको नामबाट नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख छ । 

समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणित पत्र, रकम बुझाएको रसिदलगायतका किर्ते गरी जग्गा हिनामिना भएको थियो । तर, सिआइबीले अख्तियारले भन्दा विस्तृत अनुसन्धान गरेन । अख्तियारले नै मुद्दा चलाइएकामध्ये १३७ जनालाई प्रतिवादी बनाउन सिफारिस भएको स्रोत बताउँछ । 

०६६ सालदेखि पटक–पटक गरेर त्यसरी जग्गा हिनामिना भएको हो । अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । जग्गा वितरण गर्दाका कागजात राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा नमुना मिसिलसँग नभिडेको पुष्टि भएपछि समितिको घडेरी व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा व्यक्तिविशेषका नाममा वितरण गरेको अख्तियारको छानबिनमा खुलेको थियो । 

अख्तियारले मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय, टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि प्रतिवादी कायम गरेको छ । 

०५९ सालमा मालपोत कार्यालयका कागजपत्र जलेकामा धेरैले आफ्नोसमेत जग्गा रहेको दाबी गर्दै जग्गा विकास समितिको नक्कली निस्सा बनाएर अनियमितता गरेका छन् । यसरी किनबेच भएको जग्गा पछि कांग्रेस नेतृ आरजु राणालगायतको नाममा समेत पुगेको थियो । उनले आफूले जग्गा किनेको र पहिले भएको हिनामिनाबारे जानकारी नभएको बताउँदै आएकी छिन् । सिआइबीले पनि पहिलो चरणमा जग्गा हात पार्नेहरूमाथि मात्र अनुसन्धान गरेको छ ।