१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ७ सोमबार o८:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक : हेटौँडा–टेकु रोपवे सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o८:२६:oo

लामो समयदेखि सञ्चालनमा आउन नसकेको हेटौँडा–टेकु रज्जुमार्ग (रोपवे)लाई बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याउने भएको छ । बागमती सरकारले आइतबार सार्वजनिक गरेको ७६ बुँदे न्यूनतम साझा कार्यक्रममा संघीय सरकारसँगको सहकार्य र समन्वयमा रोपवे पुनः सञ्चालनमा ल्याइने उल्लेख छ । चन्द्रशमशेरको पालामा निर्माण भएको रोपवे मकवानपुरको भंँसेस्थित सबस्टेसनमा समस्या आएपछि ०५६ देखि बन्द भएको थियो ।

सरकार गठन भएको झन्डै दुई महिनापछि सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारले प्रदेश प्रहरी ऐन, अनुसन्धान ब्युरो स्थापना, निजामती कर्मचारी ऐन र भौतिक पूर्वाधारजस्ता विषयलाई विशेष प्राथमिकता दिएको छ । कार्यक्रममा सरकाको फजुल खर्च कटौती गरी आर्थिक अनुशासनलाई कडाइका साथ पालना गर्ने, संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, प्रदेशका योजना तर्जुमाका वेला देखिने दोहोरो र तेहोरोपन हटाउन प्रदेश योजना बैंक स्थापना गर्ने विषय उल्लेख छ ।

सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइनुका साथै तीन वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, प्रदेशलाई प्रविधिमा आधारित पर्यटन र साहसिक पर्यटनका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन नीति निर्माण गर्ने, सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षक बन्न सक्ने परम्परागत संस्कृतिलाई प्राथमिकता दिने जनाइएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र एमाले बागमती प्रदेश संदीय दलका नेता जगन्नाथ थपलियाले न्यूनतम साझा कार्यक्रममा उल्लेख गरेका विषयलाई प्राथमिकताका साथ लागू गर्ने बताए । उनीहरूले संसद्मा रहेका दुई ठूला दलहरू मिलेर बनेको सरकारलाई जनताको आकांक्षाभन्दा बाहिर गएर काम गर्ने छुट नभएको भन्दै प्रदेशको सर्वांगिण विकासमा ध्यान पुर्‍याउने दाबी गरे । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले संसदीय अभ्यासअनुसार प्रतिपक्षी दलको नेता भए पनि आफू न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उपस्थित भएको बताए ।