१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
२o८१ असोज ७ सोमबार o७:o३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२०औँ एसियन सिनियर कराँतेमा एरिकाले जितिन् रजत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o७:o३:oo

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा इतिहास रचेकी नेपालकी महिला कराँते खेलाडी एरिका गुरुङले चीनको हाङझाउमा अर्को सफलता चुमेकी छिन् । एसियन सिनियर कराँते च्याम्पियनसिपमा एरिकाले नेपाललाई ऐतिहासिक रजत पदक दिलाइन् । उनले पहिलोपटक एसियन कराँते च्याम्पियनसिपमा फाइनलमा स्थान बनाउँदै रजत जितेकी हुन् । यसअघि नेपाली कराँते खेलाडी फाइनलमा पुगेका थिएनन् । 

हाङझाउमा आइतबार भएको फाइनलमा एरिकाले स्वर्ण पदकका लागि भियतनामकी नाओन थी नुयेनसँग प्रतिस्पर्धा गरेकी थिइन् । च्याम्पियनसिपको ६८ केजीभन्दा माथि तौल समूहको स्वर्ण भिडन्तमा उनी नाओनसँग ६–० ले पराजित भइन् । एरिकाले १९औँ एसियाडमा रजत हात पारेकी थिइन् । एसियाडमा कराँतेले पहिलोपटक रजत हात पारेको हो । सन् १९९८ मा बैंककमा भएको एसियाडपछि नेपालले व्यक्तिगत इभेन्टमा रजत जितेको हाङझाउमै थियो । 

एरिकाले फाइनल यात्रासम्म शीर्ष वरीयताका खेलाडीलाई स्तब्ध पारेकी थिइन्, तर उनले फाइनलको दबाब झेल्न सकिनन् । आक्रामक रूपमा प्रस्तुत हुँदा उनी भियनतामकी नाओनले डिफेन्स अपनाएकी थिइन् । नाओनले एरिकाको गल्तीमा अंक बटुल्दै देशका लागि स्वर्ण दिलाइन् । नेपाली कराँते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले एरिकाले दबाब झेल्न नसकेको बताएका छन् । 

गत वर्ष चीनको हाङझाउमा भएको १९औँ एसियाडमा इतिहास रचेकी एरिका गुरुङले एक वर्षपछि २०औँ एसियन कराँतेमा ऐतिहासिक रजत जितिन्, नेपालका लागि यो पदक पहिलो हो 

‘जसरी पनि फाइनल जित्नुपर्छ भन्ने मनसायका साथ प्रतिस्पर्धा गर्दा नै एरिका चुकेकी हुन्,’ हाङझाउबाट नयाँ पत्रिकालाई श्रेष्ठले भने, ‘संयमित रूपमा खेल्दा पक्कै पनि स्वर्ण जित्ने सम्भावना थियो ।’ प्रतिस्पर्धामा रेफ्रीहरूले एकैपटक नाओनलाई ३ अंक दिँदा एरिकालाई खेलमा फर्कन गाह्रो भएको श्रेष्ठले बताए । ‘थोरै समय रहँदा नाओनलाई रेफ्रीहरूले ३ अंक दिए, त्यसपछि खेलमा फर्कने अवसर नै भएन,’ उनले भने, ‘यदि २–० ले पछि रहँदा बराबरी गर्ने अवसर थियो, तर विपक्षीले ५–० को अग्रता लिइसक्दा फर्कने समय नै भएन ।’

नेपाललाई एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत दिलाएकी एरिकाले आक्रामक खेल्दा नै अंक गुमाएको बताइन् । ‘सबैले फाइनलका लागि शुभकामना दिनुभएको थियो । एरिनामा सुरुदेखि नै अंक बटुल्न अग्रसर भएँ, त्यसैमा विपक्षीले अंक लिए,’ एरिकाले भनिन्, ‘सामान्य गल्तीमै फाइनल गुमाएँ ।’ उनले नेपाली कराँतेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका गुमाएको बताइन् । 

एसियन च्याम्पियनसिपपछि अब नेपाली टोलीले अक्टोबरमा इटालीमा हुने विश्व कराँते च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । सो प्रतियोगितामा एरिकाले राम्रो नतिजा निकाल्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘अब हाम्रो लक्ष्य इटालीमा हुने विश्व च्याम्पियनसिप हो । जसमा एरिकाबाट पुनः पदकको आशा गरेका छौँ,’ उनले भने । 

फाइनलसम्मको यात्रा
स्वर्ण भिडन्तअघिसम्म एरिकाले लगातार तीन बाउट जितेकी थिइन् । एसियन कराँते च्याम्पियनसिपमा लगातार तीन खेल जित्ने उनी पहिलो नेपाली हुन् । यसअघि नेपाली खेलाडीले तीन खेल जितेका थिएनन् । हाङझाउको स्पोर्टस् सेन्टर जिम्न्याजिम लक्की साबित भएको एरिकाले सुरुवाती तीन खेलमा सबैलाई स्तब्ध पार्ने नतिजा निकालेकी थिइन् । उनले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले सहजै पाखा लगाइन् । 

क्वार्टरफाइनलमा एरिकाको भेट १९औँ एसियाडकी स्वर्ण विजेता काजकिस्तानकी सोफिया बेरुत्सलेभासँग रह्यो । एक वर्षअघिको एसियाडको स्वर्ण भिडन्तमा उनी सोफियासँग ३–० को नतिजामा पराजित भएकी थिइन् । यसपटक उनीसमक्ष एसियाडको हारको बदला लिने अवसर थियो । एक वर्षको अवधिमा आधा दर्जन अन्तर्राष्ट्रिय कराँते खेलको अनुभव प्राप्त गरिसकेकी एरिकाले यसपटक भने सोफियाविरुद्ध कडा टक्कर दिइन् । 

एरिका र सोफियाबिच निर्धारित समयको खेलमा १–१ को बराबरी भएको थियो । त्यसपछि रेफ्रीले एरिकालाई विजयी घोषित गरे । एरिका सहभागी तौल समूहमा सोफिया नम्बर एक खेलाडी हुन् । स्वर्ण दाबेदार खेलाडीलाई पाखा लगाउँदै सेमिफाइनलमा पुगेकी उनले थाइल्यान्डकी केवलिन सोङगलिनलाई सहजै ८–० ले हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरिन् । 

अन्तर्राष्ट्रिय स्पर्धामा पदकविहीन नभएकी एरिका
एरिकाले करिअरमा अहिलेसम्म पाँच अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिएकी छिन् । उनी अहिलेसम्म पदकविहीन भएकी छैनन् । पाँच अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुँदा उनले राष्ट्रलाई तीनवटामा स्वर्ण दिलाएकी छिन् । डेढ वर्षको अन्तर्राष्ट्रिय यात्रामा उनले व्यक्तिगत ६ पदक जितेकी छिन् । १९औँ एसियाडमा सहभागी हुनुअघि उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता इन्डोनेसियाको जाकार्तामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिप थियो ।

डेब्युमै उनले सनसनी मच्चाउँदै स्वर्ण जितिन् । त्यसको दुई सातापछि उनले १९औँ एसियाडमा रजत हात पारिन् । एसियाडको सफलतालाई निरन्तरता दिँदै अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराँते च्याम्पियनसिपमा उनले व्यक्तिगत इभेन्टमा स्वर्ण र यू–२० मा रजत जितिन् । यसैगरी, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

स्वर्ण जित्ने अवसर गुमाएँ
एरिका गुरुङ, खेलाडी

नेपाललाई पहिलोपटक एसियन च्याम्पियनसिपमा स्वर्ण पदक दिलाउने सपना थियो । त्यो अवसर गुमाएँ । फाइनल जित्छु जस्तो लागेको थियो । भियनतामका खेलाडीसँग सुरुदेखि नै आक्रामक खेलेँ । मेरै गल्तीमा उसले अंक लिएको हो । आक्रामक रूपमा अगाडि बढ्दा अंक गुमाएँ । अब विश्व च्याम्पियनसिपमा योभन्दा राम्रो खेल्ने प्रयास गर्नेछु ।

फाइनलको दबाब झेल्न नसकेको जस्तो लाग्यो
कुशल श्रेष्ठ, प्रशिक्षक

नेपाललाई पहिलोपटक एसियन च्याम्पियनसिपमा स्वर्ण पदक दिलाउने योजनाका साथ प्रतिस्पर्धा भएको थियो । एरिकाले सम्भवतः फाइनलको दबाब झेल्न नसकेको जस्तो लाग्यो । यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन भएको थियो । विश्व नम्बर एक खेलाडीलाई सहजै पाखा लगाएर फाइनल खेलेकी खेलाडी स्वर्ण भिडन्तमा चुक्न पुगिन् । प्रिक्वार्टरदेखि सेमिफाइनलको नतिजा हेर्दा यसपटक स्वर्ण पदक पक्काजस्तै थियो । दबाब नलिएर प्रतिस्पर्धा गरेको भए नेपालले स्वर्ण जित्न सक्थ्यो । तर, एरिकाले सुरुदेखि नै आक्रामक खेलिन् । विपक्षी खेलाडीले उनको गल्तीमा अंक बटुल्दै गइन् । अब इटालीमा हुने विश्व च्याम्पियनसिपमा पदकको आशा गरेका छौँ ।