१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
२o८१ असोज ७ सोमबार o६:५७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सूर्यदर्शन सहकारी ठगीमा पूर्वडिआइजी जोशी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o६:५७:oo

प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई पक्राउ गरेको छ । सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिकोे प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि कास्की प्रहरीको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ‘जरुरी पुर्जी’ दिएर जोशीलाई आइतबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । 

कास्कीका प्रहरी प्रवक्ता विनोद शर्माले सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको बताए । उनलाई पोखरा ल्याइएको छ । जोशीमाथि कास्की प्रहरीले नै अनुसन्धान अगाडि बढाउनेछ । 

संसदीय छानबिन विशेष समितिकोे प्रतिवेदनमा गोर्खा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध–निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेल र सञ्चालक छवि जोशीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न भनिएको थियो । सूर्यदर्शनसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको निष्कर्ष थियो । सोही आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । रम्तेल यसअघि नै पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् भने जिबी मलेसियामा फरार छन् । पूर्वगृहमन्त्री तथा सांसद लामिछाने काठमाडौंमै छन् । 

समितिको सिफारिसमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडया नेटवर्कको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध–निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ 

अन्य कम्पनीको हकमा पनि यसैगरी सञ्चालक, निर्णयकर्ता एवं मुख्य जिम्मेवारलाई कानुनबमोजिम जवाफदेही बनाउन भनिएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार गोर्खा मिडियामा कानुनविपरीत सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ रकम गएको थियो । 

सूर्यदर्शनको सवा अर्ब ठगीमा १९ जनाविरुद्ध मुद्दा, १४ जना अझै फरार
सूर्यदर्शन सहकारीको एक अर्ब ११ करोड अपचलन मुद्दामा कास्की अदालतमा १९ जनाविरुद्ध मुद्दा चलेको थियो । तर, तीमध्ये पाँचजना पुर्पक्षका लागि थुनामा गएका छन् भने बाँकी फरार छन् ।सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)का मुख्य सहयोगी डन पृष्ठभूमिका महेन्द्र भोटेका नामले परिचित पोखराका शिवबहादुर गुरुङ, सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल र सहकारीका पूर्वसचिव अनुज नकर्मी अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् ।

फरार रहेकामध्ये ठगी मुद्दाका मुख्य प्रतिवादीहरू सहकारीका पूर्वअध्यक्ष जिबी, पूर्वअध्यक्ष रहेका उनका दाइ भूपेन्द्र र सहकारीका वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत १२ माघ ०८० मा डिफ्युजन नोटिस जारी गरेको थियो । कास्की प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले १८ असोज ०८० मा एक हजार ३६ जनाको एक अर्ब ११ करोड रकम अपचलन भएको निष्कर्षहित १९ जनाविरुद्ध मुद्दा चलाएको थियो । सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार आठदेखि १० वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको थियो ।

तर, पछि प्रहरीले सहकारीको थप अनुसन्धान गर्दा ०७२ अघिको सहकारीको सफ्टवेयर नियन्त्रणमा लिएपछि थप २५ जनाको संलग्नता पाइएको थियो । त्यतिखेर २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन् ।