१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ असोज ७ सोमबार o६:१८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रगतमा बढ्दै छ सिसाको मात्रा : तर, सरकारी ल्याबहरूले गर्दैनन् परीक्षण

ग्लोबल बर्डन अफ डिजिज २०१९ को तथ्यांकलाई आधार मानेर गरिएको एक अध्ययनमा रगतमा अत्यधिक सिसाको मात्रा हुँदा बच्चाहरूमा बढ्दै छ बौद्धिक असक्षमता

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o६:१८:oo

महाराजगन्जस्थित नेसनल प्याथ ल्याबमा गत २१ भदौमा पोखराका एक बालकको रगतमा सिसाको मात्रा परीक्षण भयो । कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएका ती बालकको त्यहाँ सिसाको मात्रा परीक्षण नगर्ने भएकाले निजी ल्याबमा पठाइएको थियो । उनको रगतमा सिसाको मात्रा ५६.५४ माइक्रोग्राम पर डेसलिटर भेटियो, जुन स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हो । विश्व स्वास्थ्य संगठनले नै बालबालिकाको रगतमा ३.५ माइक्रोग्राम पर डेसलिटरभन्दा बढी सिसा हुनुलाई ‘लिड पोइजनिङ’ (सिसाजन्य बिकार) मानेको छ । 

सोही ल्याबमा १२ भदौमा बुटवलका पाँच वर्षीय बालकको रगत परीक्षणमा पनि सिसाको मात्रा भेटियो । उनको रगतमा २.७८ माइक्रोग्राम पर डेसलिटर सिसा भेटिएको थियो । त्यस्तै, चितवनका चार वर्षीय बालकको रगतमा २.९७ माइक्रोग्राम पर डेसलिटर सिसा भेटियो । यी दुई नमुनामा जोखिमभन्दा कम मात्रामा सिसा भए पनि शरीरमा विभिन्न असर भने पार्न सक्ने चिकित्सकहरू बताउँछन् । 

बालबालिकामा मात्रै होइन, वयस्कहरूको रगतमा पनि सिसाको मात्रा अत्यधिक देखिने गरेको छ । नेसनल प्याथ ल्याबकै रिपोर्टलाई आधार मान्दा १७ भदौमा बुटवलका ३३ वर्षीय  युवाको रगतमा ६३ माइक्रोग्राम पर डेसलिटर सिसा भेटिएको ल्याबले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार वयस्कमा ५ माइक्रोग्राम पर डेसलिटरभन्दा बढी सिसाको मात्रा भेटिए उपचार आवश्यक पर्छ । बढ्दो वायु प्रदूषण, सहरीकरण, फास्टफुड प्रयोगलगायत कारणले नेपालमा ‘लिड पोइजनिङ’को जोखिम बढिरहे पनि सरकारी ल्याबमै यसको परीक्षण नहुने दुभाग्यपूर्ण अवस्था छ । नियमित परीक्षणहरूमा रगतमा सिसाको मात्रा परीक्षण नगरिने भएकाले कति मान्छे प्रभावित छन् भन्ने यकिन तथ्यांक नै छैन ।

सन् २०१६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणले काठमाडौं उपत्यकाका करिब ६५% बालबालिकाको रगतमा ५ एमएमभन्दा माथिका सिसाका टुक्राहरू भेटिएको देखाएको थियो । उक्त अध्ययनले बढ्दो सहरीकरण, तीव्र औद्योगीकरण, विद्युतीय फोहोरको उत्पादन, भवनहरूमा प्रयोग हुने इनामेल रङजस्ता विभिन्न कारणले नेपालका सहरी क्षेत्रहरूमा ‘सिसाजन्य प्रदूषण’को जोखिम बढेको निष्कर्ष निकालेको थियो । 

त्यस्तै, सन् २०२३ मा ल्यान्सेटले प्रकाशित गरेको एक अध्ययनले पनि विश्वभरि रगतमा सिसाको मात्रा बढ्दै गएर समस्या निम्तिरहेकामा दक्षिण एसिया सबैभन्दा बढी प्रभावित भइरहेको निष्कर्ष निकालेको थियो । गत अक्टोबरमा प्रकाशित उक्त अध्ययनले विश्वभर करिब ४७ प्रतिशत बालबालिकाको रगतमा ५ माइक्रोग्राम पर डेसलिटर र २८ प्रतिशतमा १० माइक्रोग्राम पर डेसलिटर सिसाको मात्रा पाइएको जनाएको थियो ।

रगतमा सिसाको धेरै मात्रा भएकाहरूमध्ये अधिकांशमा ‘न्युरो साइकोलोजिकल’ प्रभाव हुने गरेको अध्ययनले जनाएको छ । ग्लोबल बर्डन अफ डिजिज २०१९ को तथ्यांकलाई आधार मानेर गरिएको अध्ययनले बच्चाहरूमा बौद्धिक असक्षमता बढाइरहेको निष्कर्ष निकालेको छ । 

नेपालमा बालबालिकामा सिसाको मात्रा उच्च देखिएर जोखिम बढिरहेको छ । तर, बालबालिकाका लागि एक मात्र केन्द्रीय अस्पताल कान्तिले भने रगतमा सिसाको मात्रा परीक्षण नै गर्दैन । परीक्षण गर्नुपर्ने अवस्थामा पनि निजी ल्याबमा पठाइदिन्छ । 

ल्याबमा संक्रामक रोगको भार एकदमै बढी भएकाले ‘लिड पोइजनिङ’ परीक्षणमा ध्यान दिन नसकेको बताउँछिन् कान्ति बाल अस्पतालकी प्याथोलोजिस्ट डा. मोनी सुवेदी । ‘बच्चामा एकदमै धेरै मात्रामा लिड भएमा सामान्य सिबिसी परीक्षणबाट समेत पोइजनिङ भए, नभएको पत्ता लगाउन सकिन्छ । तर, यसको छुट्टै परीक्षण भने गरिएको छैन ।’

डा. मेघनाथ धिमाल बालबालिकामा सिसाको जोखिमबारे स्वास्थ्य मन्त्रालय र युएसआइडीले काठमाडौंलगायत प्रदूषण बढी हुने सहरहरूमा सर्वेक्षणको तयारी गरिरहेको बताउँछन् । बालबालिकामा हुन सक्ने विभिन्न समस्याबारे अध्ययनको क्रममा ‘लिड पोइजनिङ’को समेत परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । ‘बच्चाहरूमा कुनै समस्या देखिएमा के कारणले भएको भनेर खोजिँदैन । विभिन्न समस्या लिएर आएका बच्चाहरूमा लिड छ कि छैन भन्ने परीक्षण गर्न जरुरी छ,’ उनले भने ।

त्यसो त अन्य सरकारी अस्पताल तथा ल्याबहरूमा पनि रगतमा सिसाको परीक्षण भइरहेको छैन । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अस्पतालहरूबाट नमुना नै नआउने जनाएको छ । प्रयोगशालाकी पूर्वनिर्देशक डा. रुना झाले भनिन्, ‘हामीकहाँ लिडको मात्रा परीक्षणका लागि भनेर छुट्याएर नमुना नै आउने गरेको छैन । विशेष गरी संक्रमण र अन्य मेडिकलजन्य परीक्षण हुने गरेका छन् । लिडको परीक्षण फरेन्सिक ल्याबमा भइरहेको हुन सक्छ, तर हामीले भने गरेका छैनौँ ।’

 किन बढिरहेछ सिसाको मात्रा ?
२०१६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणले काठमाडौं उपत्यकाका करिब ६५ प्रतिशत बालबालिकाका रगतमा पाँच एमएमभन्दा माथिका सिसाका टुक्राहरू भेटिएको देखाएको थियो । उक्त अध्ययनले बढ्दो सहरीकरण, तीव्र औद्योगीकरण, विद्युतीय फोहोर उत्पादन, भवनहरूमा प्रयोग हुने इनामेल रङजस्ता कारणले नेपालका सहरी क्षेत्रहरूमा सिसा प्रदूषणको जोखिम बढिरहेको देखाएको थियो ।

बढ्दो वायु प्रदूषण, सहरीकरण, फास्टफुडको प्रयोगलगायत कारण नेपाल ‘लिड पोइजनिङ’को उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाए पनि पर्याप्त परीक्षण भने भएको छैन । कान्ति बाल अस्पतालकी प्याथोलोजिस्ट डा. मोनी सुवेदी भन्छिन्, ‘हामीकहाँ बच्चाहरूमा भित्तामा गरिने पेन्टिङ र वायु प्रदूषणको माध्यमबाट लिड पोइजनिङ हुने गरेको देखिन्छ । खासगरी अत्यधिक प्रदूषण भएको क्षेत्रमा बसोवास गर्ने र माटो–धुलोसँग नजिक हुने बालबालिकाहरू जोखिममा छन् ।’

विश्व स्वास्थ्य संगठन भन्छ– अत्यधिक सिसाका कारण केन्द्रीय स्नायु प्रणालीमा गम्भीर प्रभाव पर्छ । बिरामी कोमामा पुग्नुको साथै मृत्यु नै हुन सक्छ । बाँचे भने पनि उनीहरू विषाक्त लिडका कारण जीवनभर बौद्धिक अपांगता एवं अस्वाभाविक व्यवहार देखाउने हुन्छन् । 

(डब्लुएचओले बालबालिकामा ३.५ एमजी/डिएलभन्दा बढी र वयस्कमा ५ एमजी/ डिएलभन्दा माथि सिसा देखिएमा उपचारको आवश्यकता भएको निर्धारण गरेको छ ।)

‘लिड पोइजनिङ’ले सबै उमेरसमूहका व्यक्ति जोखिममा रहे पनि बालबालिका बढी प्रभावित 
डा. मेघनाथ धिमाल, रिसर्चर

हावामा भएका सिसाका कणहरू खाना र सासको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । सामान्यतया प्रदूषित वायु अत्यधिक रहेका स्थानहरूमा सबै व्यक्ति जोखिममा रहे पनि बालबालिका बढी प्रभावित हुन्छन् । रगतमा सिसाको मात्रा बढ्दै जाँदा मस्तिष्कमा क्षति गरेर मानसिक समस्या जटिल बनाउँदै लैजाने विभिन्न अध्ययनले देखाएका छन् । यसबाहेक कम बुद्धि, रक्तअल्पता, कलेजो वा मिर्गौलामा क्षति पनि गर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकामा सिसाको उच्च जोखिम पाइएको छ ।

सहरी इलाकामा खोलाकिनारका बस्तीमा हुर्किएका बालबालिका फोहोरको सम्पर्कमा हुने भएकाले उनीहरूको रगतमा सिसाको जोखिम बढी देखिन्छ । सिसाले बालबालिकामा मात्रै नभई वयस्कहरूमा समेत दीर्घकालीन असर गरिरहेको छ । वयस्कहरूमा उच्च रक्तचाप, हृदयाघात र मिर्गौला क्षति हुने जोखिम हुन्छ । त्यस्तै, गर्भवती महिलामा सिसाको स्तर उच्च भएमा गर्भपतन, मृत जन्म, समयपूर्व जन्म र कम तौलका बच्चा जन्मिनेजस्ता समस्या निम्त्याएको पाइन्छ ।