Skip This
प्रेरक प्रसंग : दाजु र भाइको स्वभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o६:oo:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दाजु र भाइको स्वभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o६:oo:oo

कुनै सहरमा एउटा परिवार बस्थ्यो । परिवारमा दुई दाजुभाइ थिए । दुवै दाजुभाइको स्वभावमा आकाश–जमिनको अन्तर थियो । दुईमध्ये दाजुचाहिँ नामुद जँड्याहा थिए । बिहानैदेखि जाँडरक्सी धोक्नु, पत्नी, छोराछोरीलाई मुख छाडेर गाली गर्नु र निर्ममतापूर्वक कुटपिट गर्नु उनको दैनिकी थियो । उता भाइचाहिँ समाजका प्रतिष्ठित व्यापारी र समाजसेवी थिए । जाँडरक्सी छुँदै छुँदैनथे । परिवारका सदस्यलाई औधी माया गर्थे । कसैलाई कठोर वचन बोल्दैनथे । अरूलाई परेको वेलामा सक्दो मद्दत गर्थे । जँड्याहा र दुर्मुखा नै भए पनि दाजुलाई असाध्यै माया र सम्मान गर्थे । भाउजू र भतिजा–भतिजीलाई पनि सक्दो मद्दत गर्थे । दुई दाजुभाइलाई एकसाथ देख्ने र भोग्ने कसैले पनि उनीहरूलाई दाजुभाइ ठान्दैनथे । 

एक साधुले ती दुई दाजुभाइबारे धेरै कुरा सुने । दुवै दाजुभाइको स्वाभावबारे सुन्दा उनलाई अनौठो लाग्यो । उनलाई यसको रहस्य जान्ने उत्सुकता जाग्यो । उनी सोधखोज गर्दै दाजुको घरमा पुगे । रक्सी पिउँदै गरेका दाजुलाई भेटेर साधुले आफ्नो परिचय दिए र आउनुको कारण बताउँदै उनी त्यसरी जाँडरक्सीको कुलतमा फस्नुको कारण सोधे । दाजुले मुख बिगार्दै भने– बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो । उहाँ जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो । उहाँ मुखमा जे आयो, त्यही शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थ्यो, उठ्नै नसक्ने गरी कुटपिट गर्नुहुन्थ्यो । यस्तो माहोलमा हुर्केको मान्छे जँड्याहा नभए के हुन्छ त महाशय ? 

साधु भाइको घरमा पुगे । उनले भाइलाई प्रश्न गरे– एकै परिवारमा हुर्केर पनि तपाईं दुई दाजुभाइबिच आकाश–जमिनको अन्तर छ । यस्तो कसरी सम्भव भयो ? भाइले हँसिलो अनुहार लगाउँदै जवाफ दिए– बुबा नामुद जँड्याहा हुनुहुन्थ्यो । जहिल्यै रक्सीको नशामा डुबिरहनुहुन्थ्यो । जानेजति शब्दले आमा र हामीलाई गाली गर्नुहुन्थो । जे पायो, त्यसैले हिर्काएर हामीलाई कैयौँचोटि घाइते बनाइदिनुहुन्थ्यो । मैले बुबाको बानी देखेर आफू कहिल्यै त्यस्तो नबन्ने प्रण सानैदेखि गरेको थिएँ । जाँडरक्सी नछुने, छाडा नबोल्ने र कसैमाथि हात नउठाउने स्वभाव मैले बुबाबाटै सिकेको हुँ । साधुले मनमनै भने– कस्तो अचम्म ! घटना एक, प्रेरणा फरक–फरक !