Skip This
प्रधानमन्त्री भोलि न्युयोर्क जाँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री भोलि न्युयोर्क जाँदै 

१० असोजमा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o८:२२:oo

प्रधानमन्त्री केपी ओलीको संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेअनुसार ओली महासभाको ७९औँ सत्रमा सहभागी हुन शुक्रबार न्युयोर्क जाँदै छन् । उनले महासभालाई सम्बोधन गर्ने, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने तथा दुई विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम छ ।

‘प्रधानमन्त्रीले २६ सेप्टेम्बरमा महासभाको ७९औँ सत्रको जेनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ परराष्ट्रले भनेको छ । ‘वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास, तथा मानव स्वाभिमानका लागि कसैलाई पछि नछाडौँ’ भन्ने विषयमा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनको अघिल्लो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् । यो हरेक वर्ष आयोजना हुने नियमित कार्यक्रम हो । 

न्युयोर्कमा प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचर कार्यक्रमलाई सम्बोधन गर्नेछन् । अतिकम विकसित मुलुकहरूको वैश्विक समन्वय ब्युरोको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको परराष्ट्रले जनाएको छ । उनले समुद्रको सतह वृद्धिले बढाएको जोखिमसम्बन्धी उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले २३ सेप्टेम्बरमा नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको यात्राका विषयमा कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले २७ सेप्टेम्बरमा हावर्ड विश्वविद्यालयको जोन एफ केनेडी जुनियर फोरममा संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म नेपालको परिप्रेक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रको राष्ट्रसंघ महाशाखा प्रमुख अमृतबहादुर राईलगायत रहनेछन् । प्रधानमन्त्री १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।