१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
बेलेन फर्नान्डेज
२o८१ भदौ २३ आइतबार १o:३o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायली प्रदर्शन प्यालेस्टिनी नरसंहारविरुद्ध होइन

Read Time : > 2 मिनेट
बेलेन फर्नान्डेज
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १o:३o:oo

इजरायलका अधिकांश प्रदर्शनकारीको चिन्ता गाजाको रक्तपातप्रति नभई इजरायली बन्धकप्रति झल्किएको छ

जुलाई २०१४, गाजापट्टीमा इजरायलको ‘अपरेसन प्रोटेक्टिभ एज’ कारबाही थालिएको थियो । ५१ दिन चलेको सो कारबाहीमा पाँच सय ५१ बालबालिकासहित दुई हजार दुई सय ५१ प्यालेस्टिनी जनता मारिएका थिए । यस मामिलालाई डेनिस पत्रकार निकोलाज क्रकले इजरायलबाट कोपेनहेगनमा आधारित ‘ड्यागब्ल्याड’ पत्रिकामा रिपोर्टिङ गरेका थिए ।

गाजा सिमानानजिकै इजरायली सहर स्डेरोटको बाहिरी क्षेत्रमा रहेको एक पहाडी दृश्यको वर्णन गर्दै क्रकले सो पहाड ‘एक वास्तविक युद्ध नाटक हेर्ने नाटकघरसँग मिल्दोजुल्दो दृश्यमा रूपान्तरण भएको थियो’ भनेर उल्लेख गरेका थिए । इजरायलीले ‘क्याम्पिङ कुर्सी र सोफा’ पहाडको चुचुरोमा राखेका थिए, जहाँ केही दर्शक ‘पपकर्न (मकै) का झोला हातमा लिएर’ बसिरहेका थिए र केही दर्शक हुक्काको मजा लिइरहेका थिए । गाजा आगोमा जलिरहेको थियो र जमिन नै थर्काउने हवाई हमला हुँदा पहाडमा बसेका इजरायली दर्शक उत्साहसाथ चिच्याउँदै ताली बजाइरहेका थिए ।

इजरायली प्रायः हिंसात्मक आक्रमणसँग मज्जैले आकर्षित हुने गर्छन् र यसका पछाडि इजरायल राष्ट्रको द्वन्द्वको इतिहास जिम्मेवार छ । यद्यपि यदि हिंसाले इजरायली जीवन जोखिममा पारे हिंसाको मजा लिनेको संख्या घट्छ । गत ११ महिनामा गाजामा भएको हिंसालाई ‘वास्तविक युद्ध नाटकघर’का रूपमा वर्णन गर्न सकिन्छ, जहाँ आधिकारिक मृत्यु संख्या करिब ४१ हजार पुगेको छ । यही जुलाईमा ल्यान्सेटको अध्ययनले वास्तविक संख्या एक लाख ८६ हजार नाघेको देखाएको थियो र युद्ध अद्यापि चलिरहेको छ ।

हालका दिनमा गाजामा बन्धक बनाइएका करिब सय इजरायली बन्धकलाई मुक्त गर्न युद्धविराम र सम्झौताको माग गर्दै इजरायलभर व्यापक विरोध प्रदर्शन भइरहेको छ । आइतबार इजरायली सेनाले ६ जना बन्धकको शव फेला पारेको थियो । अमेरिकी सञ्चार माध्यम सिएनएनका अनुसार इजरायलमा करिब सात लाख मानिसले राष्ट्रव्यापी विरोध गरेका प्रदर्शन थिए । सोमबारका दिन इजरायलको मुख्य श्रमिक संघको नेतृत्वमा भएको सामान्य हडतालले धेरै घण्टाका लागि अर्थ व्यवस्थाको ठुलो हिस्सालाई ठप्प पारेको थियो ।

केही अन्तर्राष्ट्रिय तथाकथित शान्तिप्रेमी पर्यवेक्षकले हिंसा अन्त्य गर्ने चाहनाका कारण इजरायलमा विरोध प्रदर्शन भड्किएको दाबीसमेत गरेका थिए । वास्तवमा अधिकांश प्रदर्शनकारीको चिन्ता गाजाको रक्तपातमा नभई इजरायली बन्धकप्रति झल्किएको छ । यी बन्धककेन्द्रित प्रदर्शनले प्यालेस्टिनीको जीवनलाई उपेक्षा गरेको देखिन्छ । निःसन्देह प्यालेस्टिनी पीडा इजरायली नीति र मौजुदा परपीडक व्यवहारको प्रत्यक्ष परिणाम हो ।

इजरायली विश्लेषक निमरोड फ्लास्चेनबर्गले हालै अल जजिरालाई अहिलेको विरोधको मुख्य उद्देश्य ‘बन्धकको फिर्ती’ हो भनेका थिए । थोरै इजरायलीमा सम्झौताले पनि द्वन्द्वको समाधान निम्त्याउन सक्छ भन्ने अस्पष्ट बुझाइ रहे पनि फ्लास्चेनबर्गले प्रदर्शनको नेतृत्व मुख्यतया बन्धकसँग सम्बन्धित छ भनेर औँल्याएका थिए ।

इजरायलको हाल रक्तपात मञ्चनमा बन्धक देशको युद्ध कथाको केन्द्रबिन्दु बनेको छ । अझै केही इजरायलीका अनुसार गाजामा भएको नरसंहार ‘नरसंहार’ ठहरिन अपर्याप्त भएको महसुस गरेको बताएका छन् । लोकप्रिय अंग्रेजी भाषाको इजरायली पोडकास्ट ‘टू नाइस ज्युविस बोइज’को हालैको एपिसोडमा कार्यक्रम सञ्चालकले गाजा र वेस्ट बेंकका ‘प्रत्येक जीवित प्राणी’को सफाया गर्नु उपयुक्त हुनेसमेत सुझाव दिएका थिए ।

पपकर्न र हुक्का प्रकरणतर्फ नै जाऊँ । आखिर दिनको अन्त्यमा गाजामा इजरायली बन्धकका जीवनका लागि तोकिएको असमान मूल्य र विनाश भइरहेका प्यालेस्टिनी जीवन, इजरायलको विशिष्ट सर्वोच्चतावादी सोचको हिस्सा हो । यो दृष्टिकोणले इजरायलीलाई प्यालेस्टिनी ‘आतंकवाद’को बाह्रमासे पीडितका रूपमा चित्रण गर्छ । जबकि वास्तविकतामा प्यालेस्टिनी जनताले इजरायली सेनाले ज्यामितीय दरमा लगातार गरिरहेको नरसंहार व्यहोरिरहेका छन् । उदाहरणका लागि सन् २०१४ मा अपरेसन प्रोटेक्टिभ एजको समयमा केवल ६ जना इजरायली नागरिक मारिएका थिए । यसका बाबजुद इजरायलले आफू नै पीडित हुँ भन्नेमा पनि एकाधिकार कायम राखेको थियो । 

यस वर्षको जुनमा इजरायली सेनाले गाजामा उद्धार अभियान चलायो, जसले चार बन्धकलाई मुक्त त गरायो । तर, कथित रूपमा यस प्रक्रियामा दुई सय १० प्यालेस्टिनीलाई मारेको थियो । यसले निःसन्देह मानवजीवनलाई लिएर हुने असमानतालाई झल्काउँछ । यसैबिच आइतबार ६ जना बन्धकको शव फेला परेपछि नेतन्याहुले यी बन्धकको मृत्युका लागि हमासलाई दोष दिँदै ‘जोकोहीले पनि बन्धकलाई मार्छ भने उसले सम्झौता चाहँदैन’ भन्ने घोषणा गरेका थिए । तर, त्यस्तो ‘जोकोही’ जसले हमासका लागि शीर्ष युद्धविराम वार्ताकारको हत्या गर्दै र हरेक मोडमा सम्झौताको सम्भावनालाई खारेज गर्दै नरसंहारको अगुवा बनिरहन्छ भने उसलाई के भन्ने ? 

अहिले विरोध प्रदर्शनमा धेरै इजरायली नेतन्याहुविरुद्ध लागेका छन् । तर, आन्दोलनको मुद्दामा जारी नरसंहारको मुद्दा पर्दैन । नेतन्याहुका आलोचकबिच पनि इजरायली जीवनको एकपक्षीय पवित्रताबारे एक साझा सहमति कायम छ, अर्थात् इजरायली जीवनका लागि प्यालेस्टिनीलाई मार्नु अपरिहार्य अधिकार बनेको छ । र, इजरायलको ‘वास्तविक युद्ध नाटकघर’को पछिल्लो एपिसोडका रूपमा वेस्ट बैंक र लेबनानमा पनि भइरहेको हत्याका घटना हेर्नका लागि उपलब्ध छन् । इजरायलको ‘वास्तविक युद्ध नाटकघर’मा चल्ने रक्तपात साँच्चै पुरानो हुँदै गइरहेको छ । आशा गरौँ, इजरायली दर्शकले अन्ततः यो युद्धबाट आनन्द लिन छोड्नेछन् र बाहिर निस्कनेछन् । तथापि, हालका समयमा प्रदर्शन भइरहेको युद्ध रक्तपातपूर्ण ब्लकबस्टर (अत्यधिक सफल चलचित्र) हो ।

(फर्नान्डेज लेखक एवं पत्रकार हुन्) अल जजिराबाट