१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २२ शनिबार १३:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीलाई प्रधानमन्त्रीले भने - भ्रष्टाचारजस्तो दुुष्कर्ममा सहभागी नहुनुस् 

‘भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरुले ठुला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छुु भनेर मुसुुक्क हाँसिदिनुुस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १३:१९:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरूलाई आग्रह गरेका छन्।

२१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए। ‘तपाईंहरू कतै प्रयोग नहुनुस्। भ्रष्टाचारजस्तो दुष्कर्ममा सहभागी नहुनुस्। तपाईंहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन्।

भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुुस्। भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठुला कुरा गर्दा अरू केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्।’ प्रधानमन्त्री ओलीले भने, ‘म चुनौती दिएर भन्छु- म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि त्यसो गर्न दिन्नँ। नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए। उनले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे। 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरूको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्त्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि छलफल प्रक्रिया थाल्ने बताए। उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताए।

उनले अधिकार छ भन्दैमा दुई-चारजना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्नेजस्ता काम उचित नहुने बताए। ‘अहिले नियोजित रूपमा अराजकता सिर्जना गर्ने र सरकारविरुद्ध हल्ला चलाउन खोजिएको छ। वास्तवमा यस्तो विरोध नेपाली संस्कारभित्र पर्दैन।’

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकैपटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सबलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताए।