१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका म्याग्दी
२o८१ भदौ २२ शनिबार १२:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १२:२४:oo

मुस्ताङ भन्नेबित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक् भूगोलको दृश्यको कल्पना गर्दछन्। प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरू सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ। 

लोमान्थाङ गाउँपालिका–५, लोमान्थाङका वडासदस्यसमेत रहेका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडकआसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताए। लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरू छेउमै भए पनि नाउरहरू चरिरहेको देखेर पर्यटक दंग परेका बताए। 

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४, घाराका पेमाछिरिङ गुरुङले दामोदरकुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको बताए। ‘दामोदरकुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,’ घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आउनुभएका पेमाले भने, ‘दामोदरकुण्ड पारिको पाखा, सन्ताउन्नको डाँडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन्।’

समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्डनजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वन खरायो, हिउँ चितुवा, ब्याँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाले बताए। दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तुु देखिन थालेका छन्। तनहुँका दुलेगौँडाका सुरेश भट्टराईले यात्राकै क्रममा जंगली जनावरहरू देख्न पाएकामा दंग परेको बताए। 

 समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताए ‘विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,’ उनले भने, ‘तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरू देखिने भएकाले यस क्षेत्रको अध्यताहरूका लागि धेरै सम्भावना छ।’ मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। 

 वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४, याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताए। ‘ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङ्ग्रा मारेर किसानलाई दुःख दिएको छ,’ उनले भने, ‘घुम्ती गोठमा पालिने भेँडाच्याङ्ग्रा र चौँरीलाई ब्वाँसो र चितुवाबाट बचाउन चुनौती भएको छ।’

वन्यजन्तुपीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन्। ’