१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार ११:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिएन्डसीलाई एमबिबिएस पढाउन औपचारिक स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार ११:२४:oo

बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शास्त्रको स्नातक तह (एमबिबिएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउने गरी सिट निर्धारण भएको बताए। आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए। 

बिर्तामोड नगरपालिका वडा नं. ५, बिर्तामोडमा चिकित्सा शास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं ०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।

नेपाल सरकारबाट वि.सं २०६४ सालमै मनसाय-पत्र प्राप्त गरेर प्रालिले एमबिबिएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नुपरेको जनसम्पर्क अधिकृत गिरीले बताए।

सर्वोच्च अदालतले विसं ०८० चैत्र १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो। बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा.डा. उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबिबिएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए। 

बिर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११, धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्रा.डा. शर्माले जानकारी दिए। पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेकोसमेत उनले बताए। ‘मेची अञ्चलवासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुसीको विषय हो,’ उनले भने। बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन्।