१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार १o:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकृति पूजक चेपाङले आज न्वागी पर्व मनाउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १o:५८:oo

प्रकृति पूजक अति सीमान्तकृत चेपाङ जातिले आज छोनाम अर्थात् न्वागी मनाउँदै छन्। मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा विशेष बसोबास रहेको यस जातिका मानिसहरूले यो पर्व भव्य रूपमा मनाउँदै छन्। विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। हरेक वर्षको भदौ २२ गते चेपाङ जातिका मानिसहरूले न्वागी पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै आएका छन्।

विशेष गरी चेपाङ बाहुल्यता रहेको बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङ तथा गण्डकी प्रदेशको गोरखामा हरेक वर्ष पालैपालो गरी न्वागी मनाउने प्रचलन छ। संघका अध्यक्ष गोविन्दराम चेपाङले विक्रम संवत् २०६३ सालदेखि चेपाङ संघको पहलमा सामूहिक रूपमा उत्सवकै रूपमा न्वागी मनाउँदै आएको जानकारी दिए। 

भदौ २२ गते सामूहिक रूपमा न्वागी मनाउने गरिएको भए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने गरेको उको भनाइ छ। नयाँ फलफूल र अन्नपात आफ्ना पितृलाई नचढाई र पूजा नगरी खान हुँदैन भन्ने मान्यताअनुसार न्वागीलाई विशेष रूपमा मनाउने गरिएको उनले जानकारी दिए। न्वागी पर्वका समयमा घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने उनले बताए।

न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् भने यस दिन आफ्ना नाता कुटुम्बलाई बोलाई सामूहिक भोज खुवाउने चलन छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्। 
सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार ६३७ को संख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन्। यस्तै, मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजार २६८ जना चेपाङको बसोबास छ।

पछिल्लो समय चेपाङ समुदायका मानिसहरूको बसोबास २६ जिल्लामा पुगेको संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए। न्वागीका अवसरमा मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाले २१ गते र २२ गते दुई दिन सार्वजनिक बिदा दिएका छन्।