१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ भदौ २२ शनिबार १o:४७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१६ लाख पर्यटक भित्र्याउन चुनौती

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १o:४७:oo

२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द गरिने, तर पर्यटक आवागमनमा असर पर्न नदिन भैरहवा र पोखरा विमानस्थलमा उडान र अवतरण गर्ने विमानलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धन, यात्रु सेवा, टिकटमा भ्याट छुटलगायतका प्याकेज

सरकारले घोषणा गरेको १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्ने देखिएको छ । चालू आर्थिक वर्षको बजेटमै यस वर्ष १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको थियो । 

तर, पर्यटनको मुख्य सिजनमै स्तरोन्नतिका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टाका दरले बन्द गरिने भएको छ । नेपालमा पर्यटक भित्रिने प्रमुख ‘गेट वे’ दैनिक १० घण्टा बन्द हुँदा सरकारले राखेको १६ लाख पर्यटकको लक्ष्य प्राप्ति गर्न मुस्किल पर्ने पर्यटन व्यवसायीको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि चैतसम्म राति १० बजेदेखि बिहान आठ बजेसम्म विमानस्थल बन्द गरेरै धावनमार्ग, ट्याक्सी वे, पार्किङ वेलगायत विस्तारको काम गर्दै छ । 

अन्तर्राष्ट्रिय उडान कटौती, बढ्दो हवाई तथा सडक दुर्घटना, हवाई टिकटमा लगाइएको भ्याट, नेपाल वायुसेवा निगमका जहाज उड्नेभन्दा बढी ग्राउन्डेड हुने प्रवृत्ति, पर्यटन प्रवर्द्धनको जिम्मेवारी बोकेको पर्यटन बोर्डको निष्क्रियतालगायतका कारण सरकारी लक्ष्य प्रभावित हुने सम्भावना देखिएको हो । हवाई सुरक्षा कमजोर बनेपछि पछिल्लो महिना अगस्टमा अमेरिकन र युरोपियन पर्यटक घटेको पर्यटन बोर्डकै तथ्यांकले देखाउँछ । 

केही दिनअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसद उदयशमशेर राणाले पनि पर्यटकीय सिजनमा विमानस्थल मर्मतका नाममा धेरै समय बन्द गर्न नहुने धारणा राखेका थिए । ‘विगतमा मर्मत गर्दा पनि यति धेरै समय विमानस्थल बन्द नगरिएको नजिर प्रयोग गर्न जरुरी छ,’ उनले भनेका थिए, ‘भैरहवा र पोखरा विमानस्थल चलाउने कुरा पनि होला, तर कसैलाई जबर्जस्ती गरेर हुँदैन ।’

सन् २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ । सन् २०२४ मा १२ लाख हाराहारी पर्यटक भित्रिने प्रारम्भिक अनुमान छ । यो हिसाबले चालू आवमा १६ लाख पर्यटक भित्र्याउन कम्तीमा चार–पाँच लाख पर्यटक बढाउनुपर्ने जरुरी छ । यसका लागि उडान संख्या बढाउनेदेखि नेपालको अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक प्रचारप्रसार गर्नुपर्ने पर्यटन व्यवसायी बसन्त मिश्र बताउँछन् । 

‘१६ लाख पर्यटक भित्र्याउने लक्ष्य त्यति महत्वाकांक्षी होइन, तर हामीले एयर कनेक्टिभिटी बढाउन नसक्दा १०–१२ लाख पर्यटक ल्याएरै चित्त बुझाउनुपरिरहेको छ,’ मिश्रले भने, ‘१६ लाख पर्यटक भित्र्याउन कनेक्टिभिटी बढाउनैपर्ने हुन्छ, तर त्रिभुवन विमानस्थल स्तरोन्नतिका कारण मुख्य सिजनमै कनेक्टिभिटी बढ्ने होइन, घट्ने देखिएको छ । कि भैरहवा र पोखरामा फ्लाइट डाइभर्ट गरेर उडान बढाउन सक्नुपर्छ, होइन भने सरकारको लक्ष्य हासिल हुन कठिन हुने देखिन्छ ।’ 

पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान बढाउनेदेखि पर्यटन बोर्ड, नेवानिजस्ता निकायलाई पनि सक्रिय बनाउनुपर्ने उनको धारणा छ । महिनौँको रिक्ततापछि बिहीबारको मन्त्रिपरिषद् बैठकले पर्यटन बोर्डमा दीपकराज जोशीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाउने निर्णय गरेको छ । नवनियुक्त सिइओ जोशीलाई बोर्डभित्रको भद्रगोल परिस्थितिलाई व्यवस्थापन गर्दै पर्यटन प्रवर्द्धनमा सक्रिय हुनुपर्ने चुनौती छ । उनी चुनौतीलाई अवसरमा बदल्दै बोर्डको उद्देश्यबमोजिम पर्यटन प्रवर्द्धनमा सक्रिय हुने बताउँछन् । ‘सरकारी निकाय, निजी क्षेत्रलगायत सरकोकारवालासँग सहकार्य र समन्वय गरेर पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिनेछ, पर्यटन बोर्डमा रोकिएका कार्यक्रमलाई गति दिनेछौँ,’ उनले भने, ‘६ महिनाभित्र देखिने गरी नै केही न केही सुधारका काम आवश्यक हुनेछन् ।’ 

त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै सञ्चालन 
अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टा उडान हुँदै आएको छ । २३ कात्तिकदेखि धावनमार्ग, ट्याक्सी वे, एप्रोन विस्तारका क्रममा दैनिक १४ घण्टा मात्र उडान (राति १० बजेदेखि बिहान १० बजेसम्म बन्द) उडान हुनेछ । वार्षिक ९० लाख यात्रु क्षमताको विमानस्थल अहिले नै करिब स्याचुरेसनको अवस्थामा पुगेको छ । दैनिक सात घण्टा उडान आवर घट्दा नयाँ उडान थप्नेभन्दा पनि कटौती गर्नुपर्ने हुन्छ । 

त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ३३ प्रतिशत उडान कटौती हुने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । ‘हामीले अन्तर्राष्ट्रिय वायुसेवालाई करिब ४० प्रतिशत उडान भैरहवा र पोखराबाट गर्ने गरी रि–सेड्युल गर्न भनिसकेका छौँ,’ उनले भने, ‘भैरहवा र पोखरामा वैकल्पिक विमानस्थल तयार भइसकेको हुँदा त्रिभुवन विमानस्थल केही समय बन्द हुँदा उडान नै कटौती हुने अवस्था नरहला ।’ 

सरकारले यो समयलाई भैरहवा र पोखरा विमानस्थल सञ्चालनको स्वर्णिम अवसरका रूपमा लिएको छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा, ग्राउन्ड ह्यान्डलिङदेखि हवाई टिकटमा भ्याट छुट, हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्कमा छुटलगायत विभिन्न सुविधा दिइँदै छ । तर, अन्तर्राष्ट्रिय वायुसेवा भैरहवा र पोखराबाट उडान गर्न तयार हुन्छन् कि हुँदैनन्, अझै निधो भइसकेको छैन ।

ठुल्ठुला कार्यक्रम घोषणा, तर हुँदैनन् कार्यान्वयन
हरेक पर्यटनमन्त्रीले पर्यटन क्षेत्रको विकासका लागि भन्दै महत्वाकांक्षी कार्यक्रम घोषणा गर्दै आएका छन् । तर, कार्यान्वयनमा भने दिलचस्पी राख्दैनन् । अहिले राष्ट्रिय पर्यटन रणनीति (२०१६–०२५) कार्यान्वयनमा छ । रणनीतिका उद्देश्यहरू प्राप्त नहुँदै फेरि नेपाल भ्रमण दशक (२०२३–२०३२) घोषणा गरिएको छ । एक सयवटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने भनिएको छ । यस्तै, मन्त्रीपिच्छे हरेक बजेटमा ठाउँ–ठाउँमा हिल स्टेसन विकास गर्ने कार्यक्रम राखिने गरिएको छ । तर, यी कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् ।