१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २२ शनिबार o८:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मिडफिल्डमा जमेकी प्रीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o८:१३:oo

गत वर्ष साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । उपाधिनजिक पुगेर नेपाल टाइब्रेकरमा जोर्डनसँग पराजित भयो । नेपाल पुनः एकपटक उपविजेतामै सीमित रह्यो । नेपालको यो यात्रामा प्रतियोगिताभरि मिडफिल्डर प्रीति राईले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सोही वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानसँग हारनजिक पुगेको नेपाललाई बराबरीमा प्रीतिले नै पुर्‍याएकी थिइन् । 

उनले लेबनानविरुद्ध आकर्षक गोल गरिन् । अहिलेसम्म पनि उनको त्यो गोलको प्रशंसा भइरहेको छ । फाइनलमा उनी घाइते हुँदै मैदान छाड्न बाध्य रहिन् । नेपाली महिला फुटबलमा पछिल्लो समय परिचित अनुहार बनाएकी प्रीति यस वर्षको पल्सर अवार्डअन्तर्गत पिपुल्स च्वाइसको मनोनयनमा परेकी छिन् । पिपुल्स च्वाइसमा उनलाई दाबेदार खेलाडीका रूपमा हेरिएको हो । 

‘यो अवार्डको प्रत्याशी हुन पाउँदा खुसी छु । यसै विधामा सावित्रा र एन्जिला दिदी परेको सुनेकी थिएँ । त्यसवेलादेखि यो अवार्डप्रति मेरो आकर्षण बढेको थियो,’ पिपुल्स च्वाइसको महत्व दर्साउँदै उनले भनिन्, ‘कुनै दिन त्यस्तो पनि आउनेछ । जुनवेला यो विधाको प्रत्याशीमा मेरो पनि नाम हुनेछ ।’ अहिले एन्फा कम्प्लेक्समा महिला राष्ट्रिय लिग चलिरहेको छ । उनी एपिएफको प्रतिनिधित्व गर्दै मैदानमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छिन् । 

पिपुल्स च्वाइस अवार्डको विजेताको चयन भोटिङबाट हुने गर्छ । त्यसमध्ये ५० प्रतिशत मतभार इसेवाबाट हुने भोटिङको हुनेछ । सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत हुनेछ । अनि बाँकी मञ्चसँग नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध खेल पत्रकार तथा नेपाल ओलम्पिक कमिटीसँग आबद्ध संघका प्रमुख प्रशिक्षकको मत हुनेछ ।

युरोपबाट खेल्ने सपना
१९ वर्षीया प्रीतिसँग एक दशकभन्दा बढीको फुटबल खेलेको अनुभव छ । उमेर समूहको फुटबलबाट माथि उठेकी उनलाई नेपाली महिला फुटबलको भविष्य पनि भन्न सकिन्छ । अहिले युरोपियन क्लबमा नेपाली राष्ट्रिय महिला टोलीको स्ट्राइकरमा सावित्रा भण्डारी तथा एन्जिला सुब्बा आबद्ध छन् । यी सिनियर खेलाडीलाई पछ्याउँदै प्रीति पनि युरोपको क्लबमा आबद्ध हुन चाहन्छिन् । खाडी देशबाट अहिले नै उनलाई प्रस्ताव नआएको पनि होइन । भारतीय महिला लिगमा किक स्टार्टस्बाट खेलेको उनीसँग अनुभव छ । ‘नेपाली महिला फुटबलको सम्भावना धेरै छ । नेपाली महिला फुटबलालई माया गर्नुपर्‍यो, प्रोत्साहन गर्नुपर्‍यो,’ उनले भनिन् । मिडफिल्डमा उनको प्रस्तुति जुझारु खेलाडीका रूपमा हुने गर्छ । मिडफिल्डमा उनको प्रदर्शन आफैँमा दर्शनीय हुने गर्छ ।