Skip This
संघीय संसद्को चालू अधिवेशन अन्त्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
रासस काठमाडौं
२o८१ भदौ ३१ सोमबार १६:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय संसद्को चालू अधिवेशन अन्त्य

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १६:४२:oo

संघीय संसद्का दुवै सदनको चालू अधिवेशन आज सोमबार रातिबाट अन्त्य गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालू चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताए।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन ०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको छ,’ पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने।

सभामुख घिमिरेले प्रनिनिधिसभाको चालू चौथो अवधिभर भए–गरेका कामकारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए। प्रतिनिधिसभाको चौथो अधिवेशन ०८१ वैशाख २८ गते प्रारम्भ भई ०८१ भदौ ३१ गतेसम्म १३० दिन चलेको छ। जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा २०६ घण्टा २५ मिनेट समय संसदीय कामकारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताए। यस अवधिमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो।

यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन्। जसमध्ये पाँचवटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको र तीनवटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए।

त्यसैगरी, सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ। राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई सरकारले फिर्ता लिएको छ भने प्रतिस्थापन विधेयकका रूपमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० समयमै पारित हुन नसक्दा र औषधि तथा स्वास्थ्य सामग्री नियमन तथा नियन्त्रण विधेयक, २०८० सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने सांसद मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए।

प्रतिनिधिसभाको चालू अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूको अनुपस्थितिको संख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ। चालू अधिवेशनमा सांसदहरू गीता बस्नेत ४७ दिन, मनोरमा शेरचन ५६ दिन, अम्बिका बस्नेत २६ दिन, राजु थापा १० दिन, डा. नारायण खड्का १६ दिन, प्रकाशमान सिंह १७ दिन, डा. सुनीलकुमार शर्मा ११ दिन, कान्तिका सेजुवाल १५ दिन, वसन्तकुमार नेम्वाङ ५६ दिन, प्रेमबहादुर महर्जन १० दिन, गोकर्णबहादुर विष्ट १२ दिन, दीपक बोहरा ५६ दिन र कालुराम राई १८ दिन बैठकमा अनुपस्थित थिए। सांसदहरूको अनुपस्थितिको संख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ।