१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार o८:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक करोड लगानीका पाँच कृषि हाटबजार प्रयोगविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o८:o३:oo

उपभोक्ता समितिमार्फत बनाइएका संरचना बस्तीबाट टाढा रहेकाले सञ्चालनमा आउन नसकेको प्रदेश लेखा समितिको स्थलगत अध्ययनको निष्कर्ष

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा निर्माण गरिएका पाँचवटा कृषि हाटबजार पाँच वर्षदेखि प्रयोगविहीन छन् । करिब एक करोड लागतमा धनगढी उपमहानगर, गौरीगंगा, घोडाघोडी र लम्की–चुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकामा निर्मित हाटबजार प्रयोगमै नआई जीर्ण बन्न थालेका हुन् । 

उपभोक्ता समितिमार्फत धनगढी– १८, फूलबारी ‘एफ’ गाउँमा १३ लाख ४८ हजार, गौरीगंगा– ९ मा १४ लाख २४ हजार, घोडाघोडी– १, लोहरपुरमा ४६ लाख ५४ हजार, लम्की–चुहा– ८, गोप्कामा १४ लाख २२ हजार र बर्दगोरिया– ५ मा नौ लाख २९ हजार गरी कुल ९७ लाख ७७ हजार रुपैयाँ खर्चेर हाटबजारका लागि टहरा बनाइएको थियो । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञानकेन्द्र कञ्चनपुरले आर्थिक वर्ष ०७६/७७ मा कैलालीमा ६ कृषि हाटबजार निर्माण गरेकामा टीकापुरको भने चलिरहेको छ । ज्ञानकेन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरूले हाटबजारका संरचना बनाएर स्थानीय तहलाई हस्तान्तरण गरिसकेकाले हालको अवस्थाबारे जानकारी नभएको बताए । ‘कृषि ज्ञानकेन्द्रले ती हाटबजार हेर्दैन, त्यतिवेलै बनाएर हस्तान्तरण भएकाले सञ्चालनको अवस्थाबारे हामीलाई जानकारी भएन,’ उनले भने ।

बस्ती र बजारभन्दा टाढा हुँदा चलेनन् हाटबजार
बस्ती र बजारभन्दा टाढा बनाउँदा हाटबजार चल्न नसकेको निष्कर्ष प्रदेश सभाको सार्वजनिक लेखा समितिले निकालेको छ । समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले भने, ‘संरचना बनाउँदा आवश्यकता र पायक पर्ने ठाउँ हेरिएको रहेनछ । अपायक ठाउँमा बनाइएकाले पनि अधिकांश हाटबजार सञ्चालनमा आउन नसकेको देखियो ।’ राज्यको लगानीको सदुपयोग हुन नसकेकाले संरचना प्रयोगमा ल्याउन स्थानीय तहले ध्यान दिनुपर्ने उनले बताए । 

प्रदेश सरकारले घोडाघोडी– १, लोहरपुरमा ४६ लाख ५४ हजार खर्चेर कृषि हाटबजार बनायो । तर, यहाँको मुख्य बजार सुखड हो । सुखडस्थित शिवशक्ति सामुदायिक वनको छेउमा अस्थायी हाटबजार सञ्चालन हुँदै आएको छ । वडाध्यक्ष घनश्याम चौधरीले पनि पायक पर्ने ठाउँमा नभएकाले संरचना बनाएको ठाउँमा हाटबजार सञ्चालनमा आउन नसकेको बताए । तर, उक्त संरचनालाई कृषिउपज संकलन केन्द्रका रूपमा प्रयोग गर्ने तयारी भइरहेको उनले बताए । संकलन केन्द्र बनाउनका लागि हाटबजारको जग्गाको पुर्जा पालिकाको नाममा ल्याउने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

लम्कीको गोप्कामा पनि निर्माण भएदेखि नै हाटबजार चलेको छैन । हाटबजारका लागि निर्मित संरचनानजिक खुला ठाउँमा हाटबजार सञ्चालन हुने गरेको स्थानीय दिलराज गौतमले बताए । 

त्यस्तै, धनगढीको फूलबारी ‘एफ’ गाउँका गणेश विकले फूलबारीमा हाटबजार सञ्चालन नहुँदा किसानले घर–घरमा गएर तरकारी बिक्री गर्ने गरेको बताए । विकका अनुसार कतिपय किसान धनगढी गएर तरकारी बेच्छन् । वडासदस्य देवबहादुर विकले सुरुमा हाटबजार सञ्चालनको प्रयास गरिए पनि किसानको सहभागिता कम हुँदा चल्न नसकेको बताए । ‘किसान नआएपछि हाटबजार चल्न सकेन, अहिले फेरि चलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘किसान गाउँघर डुलेर तरकारी बेच्छन्, कोही धनगढीसम्म पुर्‍याउँछन् ।’