१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १८ मंगलबार २२:२१:oo
Read Time : < 1 मिनेट
समाचार

बैंककी कर्मचारीविरुद्ध हुन्डी कारोबारको मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार २२:२१:oo

हुन्डी कारोबारमा सघाएको आरोपमा बैंकका कर्मचारी र मनी ट्रान्सफर सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ। कुमारी बैैंककी कर्मचारी तृप्ति राणा र बुटवल मनी ट्रान्सफरका सञ्चालक सहदेवबिक्रम शाहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

तृप्ति कुमारी बैैैंकको कुमारीपाटी शाखामा अधिकृतको रूपमा कार्यरत कर्मचारी हुन्। बैंकले नै दिएको जाहेरीका आधारमा दुई महिनाअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ कारोबार भएको र त्यो हुन्डीबापतको भएको प्रहरी दाबी छ। धेरैजसो पैसा उनको खातामा बुटवल मनी ट्रान्सफरका सञ्चालक शाहले जम्मा गरेका थिए। 

बैंकको कर्मचारी खाता सञ्चालन निर्देशिकाअनुसार कर्मचारी बचत खातामा १० हजार रुपैयाँभन्दा धेरै जम्मा भएमा अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ। तर, राणाले जानकारी नगराई शंकास्पद कारोबार गरेको बैंकको लेखा परीक्षण विभागले प्रारम्भिक छानबिन प्रतिवेदनले देखाएपछि  प्रहरीमा परेको हो। 

राणाले भने आफूमाथि प्रतिशोध साधेर झुटा आरोप लगाइएको बयानमा उल्लेख गरेकी छिन्। आफू बैंकको कर्मचारी ट्रेड युनियनको उपाध्यक्ष रहेको र कर्मचारीमाथि भएको अन्यायविरुद्ध मुद्दा दायर गरेपछि बैंकले प्रतिशोध लिएको बयानमा उल्लेख छ। 

प्रहरीले बुटवल मनी ट्रान्सफरका सञ्चालक शाहसँग पनि बयान कागज गरेको थियो। हाजिरी जमानीमा छाडिएका दुवैलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। दुवैविरुद्ध नेपाल राष्ट्र बैंकको दफा ९५ अनुसार मुद्दा दायर भएको हो।