१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १८ मंगलबार १७:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण थालिएको २३ वर्षमा सञ्चालनमा आयो बागलुङ बसपार्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १७:५o:oo

२३ वर्ष पहिले यहाँका ४१ घरपरिवारले आधुनिक बसपार्क निर्माणका लागि ५२ रोपनी जग्गा प्रदान गरे। बसपार्क निर्माणका लागि प्रदान गरेको जग्गामध्ये १७ रोपनीमा बसपार्क निर्माण गरेर बाँकी जग्गादातालाई नै फिर्ता गर्नुपर्ने सर्तमा सम्झौता भयो। बसपार्क निर्माण समिति गठन गरेर ०५८ सालदेखि निर्माणको काम अगाडि बढाइयो, तर निर्माण कार्य सम्पन्न हुन २३ वर्ष लाग्यो। बागलुङ नगरपालिका—४, दबगारामा निर्माण भएको बसपार्कको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेसँगै मंगलबार नै दिउँसो ३ बजे बागलुङ—कोठियाघाटका लागि बस औपचारिक रूपमा सुचारु भएको छ।

नगरपालिकाले जग्गादाताहरूलाई जग्गा फिर्ताको प्रक्रिया अगाडि बढाउनुका साथै बसपार्कको पहुँचमार्ग विस्तार गरेर बसपार्क सञ्चालनमा ल्याएको हो। नगर विकास कोषको ऋणमा बागलुङ नगरपालिकाले नाै करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो। निर्माण सम्पन्न भए पनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो। बसपार्क सञ्चालनमा आएसँगै २३ वर्षदेखिको बागलुङवासीको सपना पूरा भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

बसपार्कमा टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ। ‘चार वर्षदेखि नगरपालिकाले नगर विकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क सञ्चालनमा ल्याएर बागलुङ बजारको ट्राफिक समस्या आधा घटाउनेछौँ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ।’

मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडकनजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन। हाल बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन्। नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट नगरपालिकाले आम्दानी गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताए।

बसपार्क सञ्चालनमा ल्याइसकेपछि अब बाँकी दाताको जग्गा फिर्ता गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ। बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको विकल्पमा दाबगरामा आधुनिक बसपार्क बनाइएको हो।  बसपार्क निर्माणपछि ५० प्रतिशत जग्गा घडेरीका रूपमा पुन फिर्ता गर्नुपर्ने जग्गाधनीहरूसँग नगरपालिकाले सम्झौता गरेको थियो। बसपार्क सञ्चालनमा आएपछि अब छिट्टै जग्गा फिर्ता पाउने आशा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताए।

दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा १२७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकैपटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्किङको सुविधा छ। बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। बसपार्क सञ्चालनसँगै सदरमुकाम बागलुङ बजारमा ट्राफिक व्यवस्थापनमा पनि सहज हुने अनुमान गरिएको छ।