१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १५:१५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १५:१५:oo

आइतबार बेलुकी ‘दि हल एट लाइभ’को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए। त्यो भिडमै रमाइरहेका माझ एक अमेरिकी थिइन्, फलेसिया डनल्याप।

‘यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरेँ,’ त्यस हलकी मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पर्फर्मेन्सका हिसाबले चुस्त, गजबको प्रस्तुति ।’

दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो। ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहेँ,’ कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडियोहरू देखाउँदै उनले भनिन्।
 
निर्धारित समयअनुसारै बेलुकी ठिक ८ बजे कार्यक्रम सुरु भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे। ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे। यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरु भइसकेको थियो । त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए :

‘कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा वास मात्र लिएँ नि
कुन देशको मरन हौ हजुर’

त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरु गरे। कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो। ती सबको बिचबिचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए।

सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए। कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए भने ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे ।

यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए। कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा उपस्थित थिए भने कोही आफ्ना अभिभावक र केटाकेटीसहित सपरिवार आएका पनि उत्तिकै भेटिन्थे। त्यस्तै समूहमध्ये एक थियो– भर्जिनियामा केटाकेटीलाई नेपाली भाषा, संस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात। वन्दना, सम्झना, सजना, राज र राजेशलगायतको त्यो समूह सुरुदेखि रमाइरहेको देखिन्थ्यो।
 
कन्सर्ट सकिएपछि पनि केहीबेरसम्मै आयोजना स्थलमा रमाएका दर्शकको चहलपहल देखिन्थ्यो। कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
 
यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला ६ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ। ब्यान्डका लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ। ह्यारिसबर्गको ‘दि फोरम अडिटोरियम’मा सेप्टेम्बर ७ तारिख शनिबारका दिन नेपथ्यको कन्सर्ट आयोजना हुनेछ।