१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
सोमबार रासस नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङ
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १८ मंगलबार o६:२३:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारका प्रवक्ता गुरुङलाई प्रधानमन्त्रीले गराए सचेत 

प्रधानमन्त्रीले सचेत गराउनुभो, मैले कमजोरी महसुस गरेँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार o६:२३:oo

सार्वजनिक कार्यक्रममै आइजिपीको ‘जिब्रो थुत्नुपर्ने’ शब्द प्रयोग गरेर विवादमा तानिएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी ओली सचेत गराएका छन् । प्रवक्ता गुरुङलाई सोमबार सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदिन सचेत गराएका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले संविधान र संघीय शासनविरुद्ध हुने गरी प्रहरी समायोजनका विषयमा बोलेको भन्दै मन्त्री गुरुङले अस्वाभाविक टिप्पणी गरेका थिए । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले आइजिपीको ‘जिब्रो थुत्नुपर्ने’ शब्द प्रयोग गरेका थिए । 

राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफूले पनि महसुस गरेर सचेत हुने जवाफ दिएको बताए ।

‘संविधान र संघीय शासनविरुद्ध गएर वर्तमान प्रहरी प्रमुखले नै राष्ट्रिय सुरक्षा जोडिएका कारण प्रहरी समायोजन गर्न सकिँदैन भनेको जानकारी मैले सहभागीहरूबाटै पाएँ । प्रहरी प्रमुखले त त्यस्तो बोल्न नहुने हो, त्यसरी बोलेबापत त्यहीवेला जिब्रो थुत्नुपर्थ्यो भन्ने सन्दर्भवश शब्द प्रयोग भएको हो । त्यही शब्दले अहिले तरंग पैदा गरेको हो,’ प्रधानमन्त्रीलाई गराएको ब्रिफिङ र जवाफ उद्धृत गर्दै गुरुङले भने, ‘सुनिसकेपछि प्रधानमन्त्रीले भन्नुभो, ‘सरकारको प्रवक्ता पनि हुनुहुन्छ, प्रश्नको जवाफ दिने क्रममा विवादमा आउने शब्द र भाषा प्रयोगमा सचेत हुनुपर्छ । लामो बोल्ने बानी छ, छोटो बोल्ने बानी गर्नुस् । मैले प्रधानमन्त्रीसँग ठिक छ, मैले महसुस गरेँ, सचेत हुन्छु भनेको छु । प्रधानमन्त्रीले नै भनिसकेपछि मैले महसुस गरेँ ।’

गुरुङले प्रधानमन्त्री ओलीसँग मन्त्रालयको ब्रिफिङलगायत विविध विषयमा कुरा हुने क्रममा आफ्नो पछिल्ला अभिव्यक्तिबारे छलफल भएको बताए ।