१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १३ बिहीबार
  • Sunday, 15 September, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ भदौ १३ बिहीबार o६:३४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओली–देउवाको विरोधमा नाराबाजी गर्ने युवालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १३ बिहीबार o६:३४:oo

तीन दिनअघि टुँडिखेलको कार्यक्रममा शीर्ष नेताहरूप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका कर्णाली र सुदूरपश्चिमका तीन युवा गृह मन्त्रालयको दबाबमा पक्राउ, सार्वजनिक शान्तिविरुद्धको मुद्दा चलाउने प्रहरीको तयारी

तीन दिनअघि टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरिएका तीन युवालाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ । गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई पक्राउ गरी प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो ।  

एसपी नवराज अधिकारी प्रवक्ता, जिल्ला प्रहरी परिसर, काठमाडौं
टुँडिखेलमा सोमबार भएको घटनामा संलग्नमध्ये हालसम्म तीनजनालाई पक्राउ गरिएको छ । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

गौरापर्वको अवसरमा सोमबार आयोजित कार्यक्रममा युवाहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । 

‘टुँडिखेलमा सोमबार भएको घटनामा संलग्नमध्ये हालसम्म तीनजनालाई पक्राउ गरिएको छ । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,’ उनले भने । एसपी अधिकारीका अनुसार गोपीकृष्ण र दीपकलाई नौ दिन साथै रामबहादुरलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ । 

कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि ओली र देउवाले मञ्चबाटै त्यसको आलोचना गरेका थिए । प्रहरीले घटनाको भोलिपल्ट सिसिक्यामेराको फुटेजका आधारमा उनीहरूलाई खोजी–खोजी पक्राउ गरेको हो । अन्यको पनि खोजी गर्न प्रहरी टिम परिचालित छ । प्रारम्भिक अनुसन्धानमा भने घटना सुनियोजित देखिएको छैन । 

कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहेकै वेला पर्वमा सहभागी युवाहरूले विरोधमा नाराबाजी गरेका थिए । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह, एमाले नेता भीम रावलको पक्षमा हुटिङ गर्दै युवाहरूले ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए । 

कांग्रेस सभापति देउवाले नाराबाजीका कारण बोल्नै अवरोध भएपछि यो नेपालीहरूको सांस्कृतिक चलन नभएको भन्दै प्रतिवाद गरेका थिए । कांग्रेस सभापति देउवा त नाराबाजी गर्नेलाई ‘बदमासहरू’ भन्दै रिसाएका थिए ।  

सार्वजनिक शान्तिविरुद्धको कसुरमा एक वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । प्रहरीले हुलदंगा गरेको भनेर सो कसुर लगाएको हो । 

नेताहरूको कार्यशैलीको विषयलाई लिएर असन्तुष्टि पोखेकै आधारमा पक्राउ गरेर मुद्दा चलाइएको घटनालाई लिएर संसद्मा समेत प्रश्न उठेको छ । मानव अधिकारकर्मीहरूले समेत आपत्ति जनाएका छन् । 

नेपाल बार एसोसियनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ नारा लगाएकै आधारमा पक्राउ गरेर मुद्दा चलाउनु नागरिकको मौलिक हकको हनन भएको बताउँछन् । ‘नागरिकमा असन्तुष्टि बढ्दो छ, उनीहरूले असन्तुष्टि देखाउने यस्तै सार्वजनिक कार्यक्रममा हो,’ उनी भन्छन्, ‘नेताविरुद्ध नारा लगाउँदैमा कुनै क्षति भएको छैन, त्यति नै आधारमा मुद्दा चलाउनु भनेको आफूलाई लागेको कुरा बोल्न पाउने मौलिक हकको खिलाफ हो ।’ 

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी यसरी नेताहरूको आलोचना गरेकै आधारमा पक्राउ गरेर मुद्दा चलाउनु गलत भएको बताउँछिन् । ‘नागरिकलाई नेताहरूको आलोचना गर्ने, सरकारको विरोध गर्ने अधिकार संविधानले नै दिएको छ,’ उनी भन्छिन्, ‘कार्यक्रमका भिडियोहरू हेर्दा सार्वजनिक सुरक्षा बिथोल्न खोजेकोजस्तो देखिन्न, त्यतिकै आधारमा पक्राउ गरे मुद्दा चलाउनु उचित होइन ।’ तर, नेताहरूको आलोचना गर्दा भने अपशब्द प्रयोग गर्ने संस्कृति भने गलत भएको उनको भनाइ छ । 

युवा पक्राउको संसद्मा विरोध

राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ : हरि ढकाल, रास्वपा सांसद
टुँडिखेलमा युवाहरूले नेताहरूको विरोध गरे । यसलाई अराजक शैली वा अराजकताको बहाना लगाएर सरकारले भिडियो फुटेज स्क्रिनिङ गरी ती युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ, यो बिलकुल गलत भएको छ । विरोधका बोलीहरू, त्यो पनि युवाले राखेको, राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ । स्वदेशमा अवसरबाट वञ्चित युवाले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहा गर्न माग गर्दछु । कमिलाको उड्ने वेलामा प्वाँख पलाउँछ । कमिलाको उड्ने वेलामा प्वाँख पलाएजस्तो नहोस् । हामी पनि यो विषयमा संवेदनशील छौँ । 

आगोको झिल्का विनाशक हुन सक्छ : अर्जुननरसिंह केसी, कांग्रेस सांसद
देश निरन्तर अराजकता, निराशा र विरोधतिर उन्मुख छ । मेरो यत्रो लामो राजनीतिक जीवनमा एकैपटक सबै पक्षमा यसखालको निराशा देखिएको थिएन, अनुभव गरेको थिइनँ । तर, जुन निराशा, आक्रोश र अराजकतातिर मुलुक उन्मुख भइरहेको छ, त्यसको कारकतत्वतिर गम्भीर रूपले छलफल गर्न सकेनौँ भने त्यसले हामी सत्तामा बस्नेले एक–दुईजनालाई पक्रौँला, थुनौँला । तर, आगाको झिल्का अत्यन्त विनाशक हुन सक्छ । 

जसले गरे पनि उच्छृंखल नै हो : श्याम घिमिरे, कांग्रेस प्रमुख सचेतक
गौरापर्व विशुद्ध सांस्कृतिक कार्यक्रम हो । सुदूरपश्चिमको एउटा सांस्कृतिको परिचय पनि हो । र, त्यो कार्यक्रममा जुन ढंगको प्रस्तुति भयो, त्यो उच्छृंखल र अराजक व्यवहार नै थियो । युवाले गरून् वा प्रौढले गरून्, जुनसुकै लिंग, धर्म, वर्ण जसले गरेको भए पनि उच्छृंखल उच्छृंखल नै हो । र, त्यस विषयमा संसद्मा प्रश्न आएको छ । त्यो उठाउन थाल्यौँ भने हामीले मुलुक र समाजको संस्कृतिलाई कतापट्टि लाँदै छौँ भन्नेमा गम्भीरतापूर्वक संसद्कै ध्यानाकर्षित होस् ।