१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार २२:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचारीलाई जेल हाल्न थालेपछि नयाँ समीकरण बन्यो : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार २२:२७:oo

पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीलाई जेल हाल्न थालेपछि आफू नेतृत्वको सरकार परिवर्तन गरिएको बताएका छन् । धनगढीमा बुधबार सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको समन्वय बैठकमाउनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान सुरु गरेपछि कांग्रेस–एमाले एक ठाउँमा आएको बताए ।

‘सुशासन र समृद्धिमा मेरो नेतृत्वको सरकार सफल भएपछि सरकारविरुद्ध नयाँ धु्रवीकरण सुरु भयो । भ्रष्टाचारीहरू जेलपर्ने अवस्था आएपछि कांग्रेस–एमाले एक ठाउँमा उभिएका हुन् ।’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।कांग्रेस सरकारमा रहँदा कांग्रेसकै नेता र एमाले सरकारमा हुँदा एमालेकै नेता भ्रष्टाचारमा जेल हाल्न थालिएपछि दुई पार्टी मिलेको उनको टिप्पणी थियो ।

बैठकमा सहभागी नेताहरूका अनुसार भ्रष्टाचारविरोधी अभियान सुरु गरेकै कारण विभिन्न शक्ति लागेर सरकार ढालेको प्रचण्डले बताएका थिए । समानुपातिक समावेशीजस्ता प्राप्त उपलब्धि गुम्ने खतरा रहेकाले सडक र संसद्को मोर्चाबाट पार्टी सशक्तरूपमा जानुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्रको विवाद र विभाजनबारे बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको प्रचण्डले बताए । बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीभित्र मतान्तर आउँछन्, तर बाहिर भनिएजस्तो मतान्तर पार्टीमा छैन । बाहिर आएका कुरा सत्य होइनन् । हामी एकजुट छौँ ।’ उनले सरकारमा रहँदा र बाहिरिँदाको समग्र परिस्थितिबारे जानकारी गराएका थिए ।

बैठकको पहिलो दिन बोलेको अधिकांश नेताले पार्टी नेतृत्व परिवर्तनको बहस अहिले आवश्यक नभएको धारणा राखेका थिए । उनीहरूले पार्टी एकढिक्का भएर जानुपर्नेमा जोड दिएका थिए । नेतृत्व परिवर्तन गरेर जानुपर्छ भनेर कसैको पनि धारणा नआएको केन्द्रीय सदस्य लक्षीराम आचार्यले बताए । ‘माओवादीका कारण अहिलेका उपलब्धि र परिवर्तन आएको हो । पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ भन्ने सबैको एकमत थियो,’ आचार्यले भने ।

पहिलो दिन ३२ जनाले धारणा राखेका थिए । केही नेताले भने नेतृत्व परिवर्तनको बहस सुरु गर्ने धारणा राखेका थिए । सांसद शिवसिंह ओलीलगायत केही नेताले पार्टीको सुदूरपश्चिम संसदीय दलमा देखिएको विवादबारे पनि कुरा उठाएका थिए । 

बिहीबार हुने बैठकमाबाँकी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले धारणा राखेपछि अध्यक्षसहित पदाधिकारीले बोल्नेमाओवादीका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए । पार्टीमा देखिएका समस्या तथा पार्टीलाई कसरी मजबुत बनाएर लैजाने भन्ने सन्दर्भमा नेताहरूले नेतृत्वसमक्ष सुझावदिइरहेका उनले बताए ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेता सहभागी छन् ।