Skip This
मिसन ०८४ का लागि एमालेले पास गर्‍यो १८ बुँदे कार्ययोजना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २९ शनिबार o७:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिसन ०८४ का लागि एमालेले पास गर्‍यो १८ बुँदे कार्ययोजना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार o७:२८:oo

एमालेले अबको निर्वाचनबाट पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य राखेर वार्षिक कार्ययोजना बनाएको छ । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले मिसन ०८४ लाई केन्द्रित गरेर निर्णायक शक्ति निर्माणको १८ बुँदे वार्षिक कार्ययोजना पारित गरेको हो । 

‘बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ०८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने कार्ययोजना पास गरिएको छ,’ बैठकको निर्णय जानकारी गराउँदै महासचिव शंकर पोखरेलले भने । त्यसअनुसार नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्नेलगायत मुख्य विषय कार्ययोजनामा समेटिएका छन् । 

त्यस्तै, कार्ययोजनाभित्र पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण व्यवस्थित गर्ने, अधिवेशन हुन बाँकी जिल्लालगायत सबै तहका कमिटीको नियमिति अधिवेशन कात्तिकदेखि मंसिरभित्र सम्पन्न गर्ने, अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनमा पराजित भएका नेता–कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने विषय समेटिएको कार्ययोजना पनि बैठकले पास गरेको छ ।

त्यस्तै, कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन र अन्तर्विरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कुल सञ्चालनलाई अभियानका रूपमा चलाउने, प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनैपर्ने व्यवस्था गर्ने कुरा पनि कार्ययोजनाभित्र समेटिएको छ । 

सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, जनप्रतिनिधिको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने, पार्टी कार्यालयको प्रभावकारी व्यवस्थापन गर्ने, केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने, पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने र हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने विषयको कार्ययोजना पनि सचिवालयले पास गरेको छ । 

नेता–कार्यकर्ताको जीवनशैली, आचरण, आर्थिक पारदर्शिता, चारित्रिक प्रश्नमा जनताका लागि प्रिय र स्वीकार्य बनाउने हिसाबले काम व्यवस्थित गर्ने सोच सारिएको पनि पोखरेलले बताए ।