Skip This
रामेछाप मालपोत ४० दिनदेखि प्रमुखविहीन, सेवाग्राही मारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ असोज २ बुधबार १२:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप मालपोत ४० दिनदेखि प्रमुखविहीन, सेवाग्राही मारमा

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १२:३७:oo

विगत ४० दिनदेखि मालपोत कार्यालय रामेछापका प्रमुख नहुँदा मालपोत कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा प्रभावित भएका छन्। मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख अन्यत्र जिल्लामा सरुवा गरी पठाए पनि मन्त्रालयले नयाँ प्रमुख नपठाउँदा मालपोत कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा प्रभावित भएका हुन्।

सेवा अवरुद्ध हुँदा कार्यालयमा जिल्लाको दूरदराजबाट सेवा लिन आउने सेवाग्राही मारमा परेका छन्। दुई दिन लगाएर उमाकुण्ड गाउँपालिका– १ गुम्देल लाछेवरका आङनिमा शेर्पा नामसारीको काम लिएर गाडी रिजर्भ गरी परिवारका सदस्यसमेत लिएर सदरमुकाम मन्थली आए। तर, काम नहुँदा त्यत्तिकै खालीहात फर्कनुपरेको शेर्पाले बताए। उनले भने, ‘वर्षाले गर्दा रुटमा चल्ने भाडाका गाडी गाउँसम्म पुग्दैनन्। भाडाका गाडी नहुँदा बाध्य भएर ३० हजार रुपैयाँ तिर्ने गरी गाडी रिजर्भ गरेर सदरमुकाम आएँ।’  तर, कार्यालय प्रमुख नभएको भन्दै आफ्नो काम नहुँदा आफू छाँगाबाट खसेजस्तै भएको शेर्पाले सुनाए।

हाल मालपोत कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आए पनि प्रमुख नहुँदा नागरिकको कामहरू रोकिएका छन्। प्रमुख नहुँदा कार्यालयबाट निर्णय गर्नुपर्ने कामहरू नामसारी, घर कायम, संशोधनलगायतका कामहरू रोकिएको मालपोतका निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले जानकारी दिए।

उनले भने, ‘अहिले कार्यालय प्रमुख नहुँदा राजीनामा पास, दृष्टिबन्धक, बकस पत्रलगायतका सामान्य कामहरू भएका छन्। त्यसबाहेकका कामहरू हुन सकेका छैनन्। कार्यालयमा काम लिएर टाढाटाढाबाट आएका सेवाग्राही प्रमुख नहुँदा त्यत्तिकै फर्कने गरेका छन्। हामीले तत्काल कार्यालय प्रमुख पठाइदिन वा यहीँ भएका ज्येष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन परिपत्र पठाउँदा मन्त्रालयले नयाँ प्रमुख पठाउने जानकारी दिएको भए पनि अहिलेसम्म प्रमुख आएका छैनन्।’

मालपोत प्रमुख नहुँदा कार्यालयबाट हुने काम रोकिएकाले वैदेशिक यात्रा तय गरेका विद्यार्थीहरूसमेत रोकिनुपरेको रामेछाप नगरपालिका– ६ ओख्रेनीका रोशन पाख्रिनले बताए। उनले भने, ‘जिल्लाबाट सरुवा भएर अन्यत्र जिल्लामा प्रमुख पठाउन सक्ने मन्त्रालयले उक्त स्थानमा नयाँ प्रमुख पठाउन सक्नुपर्ने हो। नयाँ प्रमुख पठाउन नसक्ने हो भने अन्य कर्मचारीलाई कामकाज गर्ने गरी जिम्मेवारी दिनुपर्ने हो। दुईवटै काम गर्न नसक्ने कस्तो मन्त्रालय हो ?’ उनले आक्रोश व्यक्त गरे।

कार्यालयमा ४० दिनदेखि प्रमुख नहुँदा सेवा लिन आएका जिल्लाका दूरदराजका धेरै नागरिकहरुले दुःख पाएका लेखापढी व्यवसायी दीपकराज दाहाल बताउँछन्। उनले भने, ‘नागरिकहरू काम होला भनेर धेरै रकम खर्चेर सदरमुकाम आउँछन्। प्रमुख नहुँदा त्यसै घर फर्कन बाध्य छन्।’