Skip This
हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन् : प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार १२:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन् : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १२:३९:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई  राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएको बताएका छन् । पार्टीको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त परामर्श बैठककाे सुरुवात गर्दै प्रचण्डले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताए ।  

आफूहरू परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिँदै उनले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताए । 

‘अरू वेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ताे देखिन्थ्यो, तर अहिले भने सबैतिर उत्साह देखिएको छ,’ उनले भने, ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्। यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’

त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए । अब केही दिन र महिनाका लागि भन्दा पनि निरन्तर चल्ने अभियान बनाउनुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै उनले सल्लाहकार र अग्रजहरूलाई आफूले देखेका र भोगेका अनुभवसहित परामर्श दिन आग्रह गरे । 

बैठकमा सहभागीहरूका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम छ। केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ। माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, काेशी प्रदेश १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ। 

अब प्रवास प्रदेशअन्तर्गतको अमेरिका र युरोप संगठन समितिको बैठक बाँकी रहेको छ। परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समितिको बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ।