Skip This
पलेसाले पाइन् सरकारले घोषणा गरेको ६५ लाख नगद पुरस्कार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २९ शनिबार o८:२o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पलेसाले पाइन् सरकारले घोषणा गरेको ६५ लाख नगद पुरस्कार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार o८:२o:oo

पारा ओलम्पिक प्रतियोगिताकी कांस्य पदक विजेता पलेसा गोवर्द्धनले सरकारले घोषणा गरेको ६५ लाख नगद पुरस्कार शुक्रबार प्राप्त गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेसासहित प्रशिक्षक र टिम व्यवस्थापकलाई नगदसहित पुरस्कृत गरेका छन् । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा पलेसाले सबै कर छुटसहित ६५ लाख पाएकी हुन् । 

२० भदौमा भएको मन्त्रिपरिषद्को निर्णयले प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो–छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिएको बताए । 

‘खेल क्षेत्रमा उत्साह कायम गर्न र उनीहरूको पदक विजेताबाट प्राप्त हुने नगद पुरस्कारको कर नकाट्ने नीति हामीले लिएका छौँ,’ ओलीले भने, ‘हामी घोषित पुरस्कार छिटोभन्दा छिटो दिने प्रयास गर्छौँ ।’ आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास प्रधानमन्त्री ओलीको छ । पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको उनले बताए । 

देशले गौरव गरेको छ : प्रधानमन्त्री

खेल क्षेत्रको उत्साह कायम राख्न छिटो–छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिएको छ । आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दछु । पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको छ । 

यसरी जितेकी थिइन् कांस्य
फ्रान्सको पेरिसमा भएको तेक्वान्दोअन्तर्गत के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहको रिपाचेजको फाइनलमा सर्बियाली खेलाडीलाई हराउँदै पलेसाले पहिलोपटक पारा ओलम्पिकमा नेपाललाई कांस्य दिलाएकी थिइन् । फाइनलमा सर्बियाली खेलाडी मारिजा मिकेभलाई १५–८ ले उनले हराइन् । रिपाचेजको पहिलो खेलमा पलेसाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले निराश पारिन् ।

रिपाचेजअघि पहिलो चरणमा पलेसाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले पराजित गरे पनि क्वार्टरफाइनलमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पराजित भएकी थिइन् ।

कार्डोसोबाट पराजित भएपछि पलेसाको स्वर्ण जित्ने सपना समाप्त भएको थियो । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । नेपालले सन् २००४ को एथेन्स ओलम्पिकदेखि पारा ओलम्पिक खेल्न थालेको हो ।