Skip This
मुगु सदरमुकाममा इन्टरनेटको दु:ख
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २९ शनिबार o८:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुगु सदरमुकाममा इन्टरनेटको दु:ख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार o८:४२:oo

टेलिकमलाई अग्रिम शुल्क बुझाएर सेवा लिए पनि क्षमताअनुसार इन्टरनेट प्रवाह नभएको स्थानीयको गुनासो, अनियमित र कम भोल्टेजको विद्युत्का कारण उच्च गतिको इन्टरनेट सेवा वितरण हुन नसकेको टेलिकमको प्रस्टोक्ति

सरकारी दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले जिल्ला सदरमुकाम गमगढीमा वितरण गरेको इन्टरनेट सेवा सुस्त हुँदा जिल्लावासीले निरन्तर दुःख झेल्दै आएका छन् ।

साबिकको ल्यान्डलाइन र एडिएसएल इन्टरनेट सेवालाई विस्थापित गरी गुणस्तरीय र तीव्र गति दिने दाबी गरिएको ‘माइक्रोवेभ’मार्फत इन्टरनेट सेवा थालिए पनि तोकिएको क्षमतायुक्त इन्टरनेट सेवा नपाउँदा सेवाग्रही दिक्क बनेका छन् ।

टेलिकमले तार र राउटरसहित वार्षिक शुल्कबापत एकमुस्ट आठ हजार पाँच सय लिएर जडान गरेको अधिकांश घरको इन्टरनेट निकै सुस्त चल्ने भएकाले दुःख पाइरहेको स्थानीय राजु मल्लले गुनासो गरे । ‘इन्टरनेट छिनमा आउँछ,  छिनमै रोकिन्छ । यसरी घरी–घरी आएको नेट पनि कछुवाको गतिभन्दा कम छ,’ उनले गुनासो गर्दै भने, ‘टेलिकमलाई गाली गर्नुबाहेक अर्को विकल्प छैन । एकमुस्ट अग्रिम पैसा लगिसक्यो । त्यसैले अहिले खाए खा, नखाए घिचको अवस्थामा छौँ ।’

अग्रिम शुल्क असुल्ने, तर तोकिएको क्षमताभन्दा कम ब्यान्डविथमा इन्टरनेटको गति छाड्ने टेलिकमको शैलीले सबैजना हैरान भएको उनले बताए । मुगुमा टेलिकमले दिने माइक्रोवेभसँगै फोरजी सेवा पनि गुणस्तरहीन रहेको छ । मोबाइलमा फोरजी नेटवर्क देखाए पनि त्यसको गति टुजीभन्दा कम रहेको सेवाग्राहीको गुनासो छ । 

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माइक्रोे सेवा सुरु गर्दा अन्यभन्दा गुणस्तरीय र तीव्र गतिको हुने दाबी गरेकी थिइन् । त्यस्तै, टेलिकमको मुगु शाखाका प्राविधिकले पनि अन्य सेवाभन्दा तीव्र र गुणस्तरीय हुने भएकाले सर्वसाधारणदेखि सरकारी कार्यालय र विभिन्न संघ–संस्थालाई नयाँ सेवा जोड्न सूचित गरेका थिए । 

टेलिकमको मुगु शाखाका कार्यालय प्रमुख प्रेमराज आचार्यले तुलनात्मक रूपमा इन्टरनेटको गति केही ढिला भएको स्वीकार गरे । ‘सेवाग्राहीले भनेजस्तो इन्टरनेटको  गति धेरै ढिला होइन, केही मात्रामा सुस्त भएको साँचो हो,’ उनले भने ।’ टेलिकमको कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख उमेशप्रसाद साहले माइक्रोवेभ प्रविधिको इन्टरनेट भएकाले तुलनात्मक रूपमा ढिला हुने गरेको बताए । उनले अप्टिकल फाइबर बिछ्याएपछि भने इन्टरनेटको गतिमा वृद्धि हुने जानकारी दिए ।

‘मुगु, डोल्पा र हुम्लामा माइक्रोवेभ प्रविधिको  इन्टरनेट सेवा दिएका छौँ, यो सेवामा यस्तै ढिला हुन्छ, अप्टिकल फाइबर पुग्यो भने पूर्ण क्षमताको गुणस्तरी सेवा प्राप्त हुन सक्छ,’ साहले भने ।

कर्णाली प्रदेशभर वितरित बिजुली नियमित नहुनु र भोल्टेजसमेत कम हुने हुँदा गुणस्तरीय इन्टरनेट सेवा प्रवाह हुन नसकिरहेको उनले बताए । मुगु सदरमुकाम गमगढी बजारमा तीन सय ६० जनाले माइक्रोवेभमार्फत वितरित इन्टरनेटको सेवा लिएका छन् । अप्टिकल फाइबर पुगेमा एक हजार २४ जनासम्मलाई उच्च गतिको इन्टरनेट सेवा दिन सक्ने टेलिकमको मुगु कार्यालयको भनाइ छ ।