१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र देउवा
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १२ बुधबार o६:१४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गरेकै आरोपमा दुई युवा पक्राउ

गृह मन्त्रालयको दबाबपछि पक्राउ, नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरेर थुनेको भन्दै परिवारको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार o६:१४:oo

सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो । 

कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि ओली र देउवाले मञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए । सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी वसन्त रजौरेले सोधपुछका लागि उनीहरूलाई पक्राउ गरिएको बताए । 

‘दुईजनालाई सोधपुछका लागि मात्र पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धान गरेपछि मात्र मुद्दा चल्ने–नचल्ने बुधबार प्रस्ट हुन्छ ।’ पक्राउ परेकालाई अदालत तथा जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको छैन । 

नाराबाजीमा संलग्न अन्यलाई पनि प्रहरीले खोजिरहेको छ । नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरेर थुनिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् । 

कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहकै वेला सहभागी युवाहरूले विरोधमा नाराबाजी गरेका थिए । काठमाडौं महानगर प्रमुख बालेन शाहको पक्षमा हुटिङ गर्दै युवाहरूले ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए । कतिपय युवाले एमालेबाट किनारामा पारिएका नेता भीम रावलको मञ्चमा प्रवेश हुने वेला ‘वी वान्ट भीम रावल’ भन्दै चर्काे नाराबाजी गरेका थिए । 

कार्यक्रममा बोल्दै ओलीले सो घटनाको आलोचना गरेका थिए । नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो । 

त्यस्तै, कांग्रेस सभापति देउवाले नाराबाजीका कारण बोल्नै अवरोध भएपछि यो नेपालीहरूको सांस्कृतिक चलन नभएको भन्दै प्रतिवाद गरेका थिए । कांग्रेस सभापति देउवा त नाराबाजी गर्नेलाई बदमासहरू भन्दै रिसाएका थिए । नाराबाजीले बोल्नै अवरोध भएपछि देउवाले भनेका थिए ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति कराउनुुहुन्छ, कराउनुस् । लाज पनि छैन ? कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति, चलन ? यही सिकेर आएको हो ? बदमासहरू ।’ 

कार्यक्रममा एमाले नेता भीम रावल, लेखराज भट्ट, उद्योगमन्त्री दामोदर भण्डारी, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, वनमन्त्री ऐनबहादुर शाही ठकुरी, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, एमाले नेता कर्णबहादुर थापा, युवा संघका पूर्वअध्यक्ष वचनबहादुर सिंह, अख्तियार आयुक्त जयबहादुर चन्दसमेत सहभागी थिए ।