Skip This
वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
वीर अस्पतालमा शुक्रबार जलन उपचार केन्द्रको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेल
शिवहरि घिमिरे काठमाडाैं
२o८१ भदौ २९ शनिबार o६:o६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालन

दुई शल्यक्रिया कक्ष, पाँच आइसियू बेड र १० वटा वार्डतर्फका बेड सञ्चालनमा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार o६:o६:oo
  • एकपटकमा सघन र सामान्य गरी १५ जना जलन बिरामीसम्मलाई भर्ना गरेर उपचार गर्न सकिने
  • थप दुईसहित चार फार्मेसी र औषधि सूचना केन्द्र पनि सञ्चालनमा

देशकै सबैभन्दा जेठो सरकारी अस्पताल वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । करिब ६ महिनाको अवधिमा निर्माण गरिएको केन्द्रको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका छन् । 

जलन उपचार केन्द्रको नाम डा. केडी जोशी जलन उपचार केन्द्र राखिएको छ । जलन उपचारका लागि डा. जोशीले महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको नाममा केन्द्र स्थापना गरिएको अस्पतालले जनाएको हो । 

हालसम्म सरकारी अस्पतालहरूले सुविधायुक्त जलन उपचार सेवा दिन सकेका थिएनन् । सरकारी अस्पतालमध्ये बिरामीको बढी भरोसा मानिएको वीरले नै जलनको विशिष्टीकृत सेवा प्रारम्भ गरेपछि यससँग सम्बन्धित बिरामीलाई सहज हुने अपेक्षा छ । 

जलन उपचार केन्द्रमा दुईवटा शल्यक्रिया कक्ष, पाँच आइसियू बेड र १० वटा वार्डतर्फका बेड सञ्चालनमा आएका छन् । यसअघि वीरमा जलन वार्ड भए पनि सामान्य उपचारमै सीमित थियो । अब भने जलनका जटिल रोगका बिरामीको उपचारसमेत वीरमा हुनेछ । 

सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन गरेको थियो । करिब दुई करोड ८० लाखमा जलन उपचार केन्द्रको निर्माण गरिएको अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले बताए । उनका अनुसार वीरमा रहेका केही उपचारसमेत केन्द्रमा जडान गरिएको छ । 

५ फागुन ०७९ मा वीरको निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष विस्तार गर्ने घोषणा गरेका थिए । जलन क्षेत्रका काम गर्दै आइरहेका डाक्टरहरूसँगको सहकार्यमा जलन उपचार केन्द्र निर्माण गरेको र यसबाट जलनका बिरामी लाभान्वित हुने निर्देशक डा. पौडेलले बताए । ‘सरकारी सेवामा जलन उपचार नहुँदा सर्वसाधारणले असाध्यै दुःख पाइरहेको अवस्था छ, अब वीरले विस्तारसहित जलन उपचार केन्द्रलाई सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘यसले जलनका बिरामीले सस्तोमा सरकारी अस्पतालबाट उपचार लिन सक्नेछन् ।’ 

उनका अनुसार यसअघि वीरको सामान्य जलन वार्ड पनि कोभिडपछि बन्द जस्तै थियो । सामान्य उपचार सेवा प्रदान गर्न पनि कठिन हुन्थ्यो । जलनका बिरामीलाई गेटबाटै फर्काउनुपर्ने अवस्था थियो । तर, अब उक्त समस्या समाधान हुने निर्देशक डा. पौडेलले बताए । अस्पतालले एकपटकमा सघन र सामान्य गरी १५ जना जलन बिरामीसम्मलाई भर्ना गरेर उपचार गर्न सक्नेछ । 

हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि विशिष्टीकृत तथा राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ । उद्घाटनपछि बिरामीको उपचारका लागि २४सै घन्टा जलन उपचार केन्द्र खुला भएको छ । 

अस्पतालले पछिल्लो समय दुईवटा फार्मेसी थप गर्दै चारवटा फार्मेसी सञ्चालन गरेको छ । ती फार्मेसी सर्जिकल र पुरानोमा राखिएको छ । यस्तै, अस्पतालले शुक्रबारदेखि नै वीर अस्पताल फार्मेसीअन्तर्गत औषधि सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । यो केन्द्रले बिरामीलाई औषधिसम्बन्धी जानकारी दिनेछ । उद्घाटनपछि मन्त्री पौडेलले अस्पताल निरीक्षण पनि गरेका थिए । 

वीरका समस्या समाधान गर्ने गरी काम गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालबारे आइरहेका नकारात्मक गुनासा र टिप्पणी समाधान गर्ने गरी काम गर्न कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । ‘वीर अस्पतालमा केही नभएको होइन, तर यसको महसुस आमनागरिक र मिडियाले गर्न सक्नुपर्छ, तर वीरमा के भइरहेको हो मैले बुझ्न सकेको छैन,’ जलन उपचार केन्द्र उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले भने, ‘सेवाग्राहीले पनि वीरमा राम्रो उपचार सुविधा पाउने अवस्था भएको छ भनेर सन्तुष्ट हुने अवस्था छैन । बाहिर पनि वीरका बारेमा राम्रो सन्देश छैन । वीर अस्पताल साधनस्रोतविहीन अवस्थामा पनि छैन । जनशक्ति सेवा दिन नसक्ने अपुग अवस्थामा पनि छैन । तर, यसको सन्देश सकारात्मक ढंगबाट भइरहेको छैन । नकारात्मक गुनासा र टिप्पणी समाधान गर्ने गरी काम गरौँ ।’ मन्त्री पौडेलले अस्पतालका काम पारदर्शी ढंगबाट हुनुपर्ने बताउँदै सेवाग्राहीको सहजताका लागि अब टिकट तथा पेमेन्टलाई अनलाइन प्रणालीमा लैजान निर्देशन दिए । 

स्वास्थ्यमन्त्री पौडेलले १७–१८ करोड बिमाको रकम भुक्तानी हुन बाँकी रहेको बताउँदै १५ दिनभित्र ५० प्रतिशत भुक्तानी हुने बताए । बाँकी ५० प्रतिशतको क्लेमबारे थप रुजु गर्नुपर्ने र कतिपय फेक क्लेम पनि आइरहेको बताउँदै यसलाई व्यवस्थित बनाउनुपर्ने मन्त्री पौडेलको भनाइ थियो । उनले सरकारी अस्पतालका स्वास्थ्यकर्मीले बिदाको दिन पनि काम गर्नुपर्ने स्थिति आएकाले उनीहरूलाई इन्सेन्टिभ दिनेबारे सरकारले तयारी गरिरहेको बताए । यस्तै, मन्त्री पौडेलले दरबन्दी भएअनुसारको नर्सिङ जनशक्ति मन्त्रालयले दुई–तीन महिनासम्ममा पठाउने प्रतिबद्धता जनाए ।