१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १२ बुधबार o६:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब मन्त्रीका गाडी पनि ट्राफिक नियमभित्र 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार o६:o३:oo

काठमाडौं उपत्यकाको सडकमा अब विशिष्ट व्यक्तिहरूलाई पनि ट्राफिक नियम लागू हुन थालेको छ । सोहीअनुसार मन्त्रीलगायत उच्चपदस्थले सडकमा पाउँदै आएको विशेष सुविधा ट्राफिक प्रहरीले रोकेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही भदौदेखि अतिविशिष्ट (भिभिआइपी)बाहेकको हकमा सडकमा नागरिकबराबर नै व्यवहार गर्न थालेको छ । सोहीअनुसार मन्त्रीलगायत उच्चपदस्थको गाडी पनि ट्राफिक लाइटमा रोकिन थालेका हुन् । उनीहरूलाई लेनको नियम पालना पनि अनिवार्य लागू गरिएको छ । 

यसअघि मन्त्रीहरूको गाडी ट्राफिक प्रहरीले ट्राफिक लाइटमा समेत एम्बुलेन्सलाई जस्तै गरी जान दिने गरेको थियो । सडकमा जाम भएको अवस्थामा विपरीत लेनसमेत प्रयोग गर्न दिई ‘विशेष सुविधा’ पाउँदै आएका थिए । यसबाट सडकमा समस्या बढेको भन्दै ट्राफिक प्रहरीले उच्चपदस्थहरूलाई यस्तो सुविधा रोकेको हो । विशिष्टहरूले सडक नियमसमेत पालना नगरेकामा नागरिकस्तरबाट समेत प्रश्न उठ्दै आएको थियो ।

विशिष्टहरू धेरै भएको र सडक व्यवस्थापनमा पनि समस्या बढ्दै गएपछि नियम पालनामा कडाइ सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका एक उच्च अधिकारीले बताए । यसका लागि ट्राफिक प्रहरीले मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)हरूलाई समेत बोलाएर यसबारे ब्रिफिङ गरेको थियो । यसअघि पिएसओहरूले नै सडकमा नियम मिचेर मन्त्री तथा विशिष्ट व्यक्तिका गाडी अगाडि बढाउँथे । 

भिभिआइपीहरूले भने सडकमा विशेष सुविधा पाउँदै आएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको हकमा भने सुरक्षाको कारण ट्राफिक लाइटमा गाडी नरोक्ने गरिएको छ । 

यसरी भिआइपीलाई सडक नियममा कडाइ गर्नुको अर्काे कारण भने राज्यप्रति सर्वसाधारणको बढ्दो असन्तुष्टि पनि हो । सडकमा समेत उच्चपदस्थले नियम नमान्ने प्रवृत्तिले जनआक्रोश अझै बढ्न जाने र त्यसले सुरक्षामा समेत जोखिम निम्त्याउन सक्ने भन्दै विशिष्टहरूलाई नियम पालना गराउन थालिएको ट्राफिक प्रहरी अधिकारी बताउँछन् । गृह मन्त्रालयको समेत सहमति लिएर ट्राफिक प्रहरीले भिआइपीहरूमाथि सडक अनुशासन लागू गरेको हो । यद्यपि, केही मन्त्रीले आकस्मिक काम परेको भन्दै नियम मिच्न खोज्ने गरेको ट्राफिक प्रहरीको गुनासो छ ।