१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
रासस कायरो
२o८१ भदौ १० सोमबार १३:२१:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलले नयाँ सर्त राखेपछि वार्ताबाट पछि हट्याे हमास

Read Time : > 1 मिनेट
रासस, कायरो
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १३:२१:oo

युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ।

जुलाई २ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै वार्ताका लागि इजिप्टको कायरोमा रहेको हमासको प्रतिनिधिमण्डल बाहिरिएको सिएनएनले जनाएको छ। वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल आइतबार कायरोबाट प्रस्थान गरेको हो।

गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्तकर्ताको युद्धविराम सफलताको सम्भावनामा थप जटिलता आएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई २ को सम्झौतामा मात्र सहमत हुन सक्ने हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। अल–रिस्कले सम्झौतामा स्थायी युद्धविराम, गाजापट्टीबाट पूर्ण रूपमा सेना फिर्ता, बासिन्दालाई आफ्नो क्षेत्र फर्कने स्वतन्त्रता, राहत तथा पुनर्निर्माणलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिए।

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्विकार्नका लागि नयाँ सर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ सर्त आफ्नो समूहका लागि मान्य नहुने बताएका थिए।

हमदानका अनुसार नयाँ सर्तहरूमा इजिप्टसँगको सिमानामा रहेको पट्टी फिलाडेल्फी करिडोरमा इजरायली सेनाको पुनर्स्थापना र इजिप्टसँगको रफाह सीमापारका लागि गैर–प्यालेस्टिनी व्यवस्थापनसमेत समावेश थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नयाँ मागहरू’ थपी वार्ताको प्रगतिको बाधक बनेको हमासको दाबी छ।

यसैबिच नेतान्याहुले सम्झौता भए पनि हमासविरुद्धको ‘पूर्ण विजय’ नभएसम्म गाजामा युद्ध जारी रहनेमा जोड दिएका छन्। हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासि गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो। 

बदलामा इजरायलले सुरु गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। 

यसैबिच, हमासनिकट समूहविरुद्धको कारबाहीस्वरूप इजरायलले सुरु गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ। आइतबार इजरायली सेनाले आफ्नो लडाकु विमानले उत्तरी र मध्यइजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो।

‘करिब १०० आइएएफ लडाकु विमानले दक्षिणी लेबनानमा रहेका हजारौँ हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,’ इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्यइजरायलतर्फ लक्षित थिए। हिजबुल्लाह समूहको आक्रमणपछि शनिबार इजरायलले लेबनानसँगको बढ्दो तनावबिच ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको थियो।