Skip This
हजयात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १७:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हजयात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

आगामी वर्षको यात्राका लागि निवेदन आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १७:५९:oo

नेपाल हज समितिको सचिवालयले हजयात्राबाट बाँकी रहेको रकम सबै यात्रुहरूलाई फिर्ता गर्ने भएको छ। रकम फिर्ता गर्न समिति सचिवालयले सूचना जारी गरेको छ। समितिले यसपटक प्रतिव्यक्ति २३ हजार चार सय रुपैयाँ फिर्ता गर्ने भएको छ।

समिति सचिवालयले प्रेस सम्मेलनकाे आयोजना गरी भर्खरै सम्पन्न भएको हजयात्रा सुखद र सफल भएको बताएको छ। ‘यो वर्ष हामीले हजयात्रीलाई मक्कानजिक राख्न सफल भयौँ। खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौँ। बसाइ अवधिमा यात्रुलाई कुनै पनि कठिनाइ हुन नदिनका लागि साउदी सरकार, साउदीस्थित नेपाली दूतावाससँग सहकार्य गर्‍याैँ,’ उनले भने।

हजमा विभिन्न मुलुकका मानिसको सहभागिता हुन्छ। धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्यसम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ। तर, यसपटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए। 

समितिले प्रतिव्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो। तर, अनुमान गरेभन्दा खर्च कम भएपछि कमिटीले रकम फिर्ता गर्न लागेको उनले बताए। ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौँ। नम्बर प्राप्त भएपछि हामी अनलाइन नै भुक्तानी गरिदिन्छौँ,’ उनले भने ।

नेपालबाट हजयात्रामा जान थालेको ६१ वर्ष भयो। यो वर्षको हजयात्राका लागि नेपालले १२०० कोटा पाएको थियो। तर, जम्मा ७६४ जना मात्रै हजयात्रामा सहभागी भएका समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले बताए। आर्थिक मन्दीका कारण यसपटक हजयात्रामा कम व्यक्ति सहभागी भएका उनले बताए। हजयात्रामा दुईजना चिकित्सकको पनि सहभागिता थियो।

आगामी वर्षको यात्राका लागि निवेदन आह्वान
हज समितिले आगामी वर्षको हजयात्राका लागि आवेदन मागसमेत गरेको छ। आगामी वर्षका लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटीका सदस्यसचिव झंकनाथ ढकालले बताए। 

उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ। प्राप्त निवेदनको आधारमा हजयात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए।

आगामी वर्षको हजयात्राको अवधि छोट्याउने कमिटीको योजना रहेको उनले बताए। सामान्यतः ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ। तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाइएपछि छोट्याउन खोजेको उनले बताए।