चिनियाँ टोलीले दोस्रो ड्रयागन बोट रेस प्रतियोगितामा सबै उपाधि जितेको छ । प्रतिस्पर्धामा नेपालको एक टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । अन्य सात नेपाली सेमिफाइनलमै पुग्न सकेन । दुई सय र पाँच सय मिटर गरी दुई विधामा भएको प्रतिस्पर्धामा चिनियाँ टोलीले पहिलोदेखि तेस्रो स्थानसम्म रहँदै उपाधिमाथि क्लिन स्विप गरेको हो ।
दुवै विधामा डोङग्वान लाओ क्लब शीर्ष स्थानमा रह्यो । डोङग्वानले दुई सय मिटर दूरी ४७ सेकेन्डमा पूरा गर्यो । पाँच सय मिटरमा दुई मिनेट चार सेकेन्डका साथ डोङग्वानले पहिलो भयो । दुई सय मिटरमा ४८ सेकेन्ड २२० मिलिसेकेन्डका साथ युन्नान मिन्जुु युनिभर्सिटी दोस्रो र चीनको लाइओ छङ युनिभर्सिटीले तेस्रो स्थान हात पारे ।
पाँच सय मिटरमा दुई मिनेट सात सेकेन्डका साथ लाइओ छङ युनिभर्सिटी दोस्रो र युहान स्पोर्टस युनिभर्सिटी तेस्रो स्थानमा रहे । प्रतियोगिताको दुवै विधाका विजेताले पाँच हजार अमेरिकी डलर पाएका छन् । उपविजेताले दुई हजार अमेरिकी डलर र तेस्रो भएको टोलीले १२ सय अमेरिकी डलर जितेका छन् ।
प्रतियोगितामा सहभागी अन्य टोलीले पाँच सय अमेरिकी डलर पाएको ड्रा्यागन बोट एसोसिएसन गण्डकी प्रदेशका सचिव विवेक भुजेलले जानकारी दिएका छन् । प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० टोलीले प्रतिस्पर्धा गरेका थिए ।