बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेनानजिकै से.१ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा जिपचालक केदारस्युँ गाउँपालिका– १ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका– ४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हाे।
धामीकै नातिनी ६ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला अस्पतालका डा. विनय जोशीले जानकारी दिए । जोशीका अनुसार अस्पताल पुग्दासम्म घाइते बालिकाको ज्यान गइसकेको थियो ।