माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ३२ वर्षे उमेरहद लागू गरेको छ । ३२ वर्षे उमेरहद वा खुला भन्ने विषयमा देशभरका भूगोल र गैरभूगोल केन्द्रबाट मतदान गरी उमेरहदको विषय टुंगो लगाएको हो । दुई हजार तीन सय ९८ मतदाता रहेकोमा एक हजार सात सय ८९ जना प्रतिनिधि मतदानमा सहभागी भएका थिए । उमेरहदको पक्षमा नौ सय र उमेरहद खुला राख्नुपर्छ भन्नेमा आठ सय ७९ मत परेको थियो । १० मत भने बदर भएको थियो ।
हिमाल शर्मा, इन्चार्ज, अखिल क्रान्तिकारी
अखिल क्रान्तिकारीमा पूर्ण जनवादको प्रयोग भएको छ । प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर उमेरहदको विषय टुंग्याउनुभएको छ । अब उमेरहदअनुसार नेतृत्व चयन हुन्छ । अखिल क्रान्तिकारी थप रफ्तारमा अगाडि बढ्छ ।
‘३२ वर्षे उमेरहद लगाउने पक्षमा २१ मत बढी भएकाले उमेरहद लगाउने मतको पक्ष विजय भएको घोषणा गरिएको छ,’ अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन समितिका निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले परिणाम घोषणा गर्दै भने । शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदान भएको थियो । उमेदहद टुंगो लागेसँगै अब नेतृत्व चयनका लागि १२ माघमा मनोनयन दर्ता समय निर्धारण गरिएको छ । निर्वाचनको थप तालिकापछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । यसअघि १५ पुसमा मनोनयन गर्दा र १७ पुसमा नेतृत्वका लागि निर्वाचनको तालिका थियो ।
गत १० असोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए । तर, उमेरहदको विवाद देखिएपछि सम्मेलन स्थगित भएको थियो । गत ९ पुसमा माओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको निवर्तमान अध्यक्ष, संगठन इन्चार्ज र आयोगका प्रतिनिधिको संयुक्त बैठकले दुई चरणमा २३औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले २३औँ राष्ट्रिय सम्मेलनको बाँकी काम पूरा गरी संगठन थप रफ्तारमा अघि बढ्ने बताए । प्रतिनिधिले विवेक प्रयोग गरी फैसला गरेकाले केन्द्र, प्रदेश र जिल्ला तहमा उमेरहद लागू हुने उनले बताए । ‘अखिल क्रान्तिकारीमा पूर्ण जनवादको प्रयोग भएको छ । प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर उमेरहदको विषय टुंग्याउनुभएको छ । अब उमेरहदअनुसार नेतृत्व चयन हुन्छ । अखिल क्रान्तिकारी थप रफ्तारमा अगाडि बढ्छ,’ उनले भने ।