मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
२o८१ पौष १९ शुक्रबार o७:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तक्सिनले लिए एकै खेलमा सात विकेट

टी–२० फर्म्याटको एक खेलमा सात विकेट लिने बंगलादेशका तक्सिन अहमेद विश्वकै तेस्रो बलर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o७:१९:oo

टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा बंगलादेशी बलर तक्सिन अहमेदले कीर्तिमानी बलिङ गरेका छन् । बंगलादेश प्रिमियर लिग (बिपिएल)मा दरबार राजशाहीका बलर तस्किनले ढाका क्यापिटल्सविरुद्ध १९ रन खर्चेर सात विकेट लिए । यस क्रममा उनले १९ रन मात्र दिए । तक्सिनको यो प्रदर्शन बिपिएल इतिहासमा उत्कृष्ट बलिङ हो । उनले पाकिस्तानी तीव्र गतिका बलर मोहमद आमिरले चार वर्षअघि राखेको रेकर्डसमेत तोडेका छन् । 

सन् २०२० मा आमिरले सिलेट रोयल्सविरुद्ध १७ रनमा ६ विकेटको कीर्तिमान राखेका थिए । आमिरले खुल्ना टाइगर्सबाट प्रतिस्पर्धा गरेका थिए । तस्किनले ढाका क्यापिटल्सविरुद्ध गरेको बलिङ स्पेल टी–२० क्रिकेटमा तेस्रो उत्कृष्ट बलिङ हो । टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा मलेसियाका स्याजरुल इन्द्रसले विश्व कीर्तिमान राखेका छन् । स्याजरुलले सन् २०२३ मा चीनविरुद्ध ८ रन खर्चेर सात विकेटको रेकर्ड बनाएका छन् । इंग्ल्यान्डको भाइटालिटी ब्लास्टमा कोलिन एंकरम्यानले लेस्टरबाट बर्मिंघमविरुद्ध १८ रनमा सात विकेट लिएका थिए ।

राजशाही सात विकेटले विजयी 
तस्किनको उत्कृष्ट बलिङका बाबजुद ढाकाले नौ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । प्रत्युत्तरमा राजशाहीले तीन विकेटको क्षतिमा १७५ रन बनायो । ‘बिपिएलमा उत्कृष्ट बलिङ गर्ने बलरका रूपमा आफूलाई उभ्याउँदा खुसी लागेको छ,’ तस्किनले भने, ‘यहाँ सधैँ धेरै विकेट लिने योजना थियो, आज आफ्नो सपना मात्र पूरा गरिनँ, कीर्तिमानीसमेत बनाउन सफल भएँ ।’ 

उनले कप्तानले विकेटको कन्डिसनअनुसार बलिङ गर्न दिएको बताए । ‘शेर रंगशालामा पिचको कन्डिसन परिवर्तन भइरहेको हुन्छ, यही अवस्थाअनुसार बलिङ गरेँ,’ तक्सिनले भने, ‘बंगलादेशी बलरका रूपमा विश्व रेकर्ड बनाउन सफल भएँ ।’ शेर रंगशालाको पिचमा निरन्तर बलिङ गर्दा यसको फाइदा च्याम्पियन्स ट्रफीमा हुने उनले बताए । ‘आगामी फेब्रुअरीमा च्याम्पियन्स ट्रफी हुँदै छ, पाकिस्तान र युएईमा प्रयोग हुने पिच यस्तै हो,’ उनले भने, ‘सम्भवतः बंगलादेशबाट प्रतिस्पर्धा गरिरहँदा पुनः एकपटक राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

रेकर्ड बनाएपछि तक्सिन भन्छन्–
क्रिकेटमा पाँच विकेट लिनुलाई एउटा उपलब्धि मानिन्छ । टी–२० फर्म्याटमा यो कल्पनाभन्दा बाहिर हुने गर्छ । तर, म भाग्यमानी नै भएँ । मैले सात विकेटको प्रदर्शन गरेको छु । घरेलु क्रिकेटमा मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेटमा समेत एकै इनिङ्समा सात विकेट लिनु चानचुने होइन । त्यसमा पनि टी–२० मा हामीलाई चार ओभर मात्र कोटा हुन्छ । एक बलरले २४ बलभित्रै उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । बिपिएल इतिहासमा आफ्नो नाममा लेखाउन सफल भएँ । आशा छ, आगामी दिनमा यो रेकर्ड तोडिनेछ ।