‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति करिब ८४ प्रतिशत सम्पन्न भएको छ । जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर २०२० (पुस ०७७) देखि खन्न सुरु गरेको सुरुङको चार वर्षमा ८३.७५ प्रतिशत भौतिक प्रगति भएको हो । आयोजना कार्यालयले आइतबार सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणले वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको छ । करिब २३ अर्ब लागत रहेको परियोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १७ अर्ब १५ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।
ठेक्काको म्याद थप गरेर २५ अक्टोबर २०२५ (८ कात्तिक ०८२) सम्म पु¥याइएको छ । यही गतिमा निरन्तर काम गर्न सकेमा ०८२ असोजभित्र परियोजना सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।
परियोजनामा मुख्यतः मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग हुनेछन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । त्यसपछि मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान–कंक्रिटिङ)को काम सम्पन्न भएको छ । साथै, भुइँ अर्थात् सडकको लेन ढलान गर्ने काम पनि औसतमा ३०.७२ प्रतिशत सकिएको छ ।
आयोजना कार्यालयका अनुसार यसको लेनलाई अन्य सडकमा जसरी कालोपत्र गरिएको छैन । मुख्य टनेलको लेनलाई ‘कन्टिन्युस्ली रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (सिआरसिपी) प्रविधिबाट कंक्रिट गरिँदै छ । जापानबाट ल्याइएको मेसिनबाट गरिएको कंक्रिटमा दुई तह ‘२० एमएम’का स्टिल राखेर ३० सेन्टिमिटरको मोटाइमा गरिएको छ । जमिनमा आउने हलचल (मोमेन्ट)लगायतका कारण सुरुङभित्रका जमिन चर्किने–फाट्नेलगायतका समस्या आउन सक्छन् । तर, यो प्रविधिबाट सडक कंक्रिट गर्दा जमिन चर्किने तथा फाट्ने जोखिम नहुने बताइएको छ ।
हालसम्म मुख्य टेनलमा ९३५.५० मिटर सडक लेन सिआरसिपीमार्फत कंक्रिट गरिएको छ । मुख्य टनेल दुई हजार ६ सय ८८ मिटरको छ । यस्तै, सुरुङबाहिरको सडक लेनलाई भने ‘रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (आरसिपी) प्रविधिमा कंक्रिट गरिँदै छ । यसअन्तर्गत दुई हजार आठ सय मिटर सडक लेन कंक्रिट गर्नुपर्नेछ, त्यसमा हालसम्म ५५१.२० मिटर सडक लेन कंक्रिट गरिएको छ ।
यस्तै, सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने ‘जोइन्ट रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (जेआरसिपी) प्रविधिमा कंक्रिट गरिँदै छ । यसअन्तर्गत ९८३.८२ मिटर सडक कंक्रिट गर्नुपर्नेछ । त्यसमा हालसम्म ५०१.४० मिटर सडक कंक्रिट गरिसकिएको छ ।
यो प्रविधिबाट सडक लेन कंक्रिट गर्दा ५० वर्षसम्म टिक्ने विश्वास गरिएको आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए । ‘सम्झौताअनुसार यो प्रविधिको कंक्रिट सडक ३० वर्षसम्म टिक्नुपर्छ । तर, ५० वर्षसम्म टिक्छ भन्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘यो प्रविधिमा जापानमा निर्माण गरिएको सुरुङभित्रका सडक लेन ५०–६० वर्षसम्म नै टिकेको पाइएको छ ।’
बाहिरको मौसम (घाम, हावा, पानी तथा तापक्रम)ले पनि सडकको आयु प्रभावित भइरहेको हुन्छ । तर, सुरुङभित्र घामपानी पर्दैन । त्यसले गर्दा सुरुङभित्रको कंक्रिट संरचना लामो समयसम्म टिकाउन सकिने प्राविधिक बताउँछन् ।
सुरुङमार्ग सञ्चालन गर्न दुवैतर्फ ‘कन्ट्रोल बिल्डिङ’ पनि बन्दै छन्, त्यसको सिभिल निर्माणको काम पनि सकिएको छ । हाल त्यसको फिनिसिङ र भवनभित्र आवश्यक उपकरणहरू जोड्ने काम भइरहेको छ ।
यसअन्तर्गतको मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान–कंक्रिटिङ)को काम सम्पन्न भएको छ । २६ सय ८८ मिटर लामो मुख्य टनेल, लगभग १८ मिटर लम्बाइका सात क्रस प्यासेज (मुख्य र रेस्क्यु टनेल जोड्ने सुरुङ) र रेस्क्यु टनेलका केही खण्ड गरेर कुल २८ सय १२ मिटर खण्डमा कंक्रिट लाइनिङ गरिएको हो ।