नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङले पुराना तथा सफल ६ जना व्यवसायीहरूलाई सम्मान गरेको छ । बिहीबार नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
धादिङको मलेखु क्षेत्रमा आएर पहिलोपटक चप, माछाको परिकार बनाउने पुराना व्यवसायी छविलाल मरहट्ठालाई सम्मानपत्रसहित सम्मानित गरिएको छ। उनले मलेखु क्षेत्रमा राजमार्ग निर्माण भएदेखि नै उनले व्यवसाय सुरु गरेका थिए। अहिले मलेखुलाई चिन्नेहरूले चप र माछाको प्रमुख बजारको रूपमा चिन्ने गर्दछन्।
धादिङमा सुरुको समयमा कुखुुरा तथा दाना उद्योग सञ्चालन गरेर नेपालमै दाना बनाउन सुरु गर्ने भीमसेन खड्का, कपडा व्यवसाय गर्ने प्रेमप्रसाद पाण्डे, किराना पसल सञ्चालक राजकुमार पौडेल तथा युवा सफल व्यवसायी ईश्वरप्रसाद सिलवाल र केशवप्रसाद अधिकारीलाई सम्मान गरिएको हो।
नेपाल उद्योग तथा व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष भगीरथ सापकोटा, एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रीय लेखा आयोगका सदस्य मीनराज कँडेल, जिल्ला सचिव राधिका सापकोटालगायतले सम्मानपत्र र खादा ओडाएर सम्मान गरेका हुन्।