मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
२o८१ पौष १६ मंगलबार o९:o५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बबई सिँचाइ आयोजना : गुलरिया नगरपालिकामा पनि नहर निर्माण सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार o९:o५:oo

बबई सिँचाइ आयोजनाले गुलरिया नगरपालिकामा पनि सिँचाइको काम अगाडि बढाएको छ । आयोजनाको कार्यक्षेत्र रहेका बर्दियाका ६ पालिकामध्ये अन्तिममा गुलरिया नगरपालिकामा समेत नहर विस्तारको काम अगाडि बढाएको हो । 

बबई सिँचाइ आयोजनाले बर्दियाका ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेको छ । जसमध्ये पश्चिम नहरको २१ हजार हेक्टरमध्ये गुलरिया नगरपालिकाको सात हजार हेक्टरमा काम सुरु भएको बबई सिँचाइ आयोजनाका प्रमुख सुशील देवकोटाले बताए । शाखा र प्रशाखा नहरसहित करिब १५ किलोमिटर नहर निर्माणका काम सुरु भएको र अब तीन वर्षभित्र नै निर्माण कार्य सम्पन्न हुने उनले बताए । नहर निर्माणका लागि जग्गा अधिग्रहण, ठेक्कालगायतका सम्पूर्ण कार्य सम्पन्न भइसकेका छन् । मूल नहर करिब चार किलोमिटर र शाखा नहर १० दशमलव सात किलोमिटर लामो छ । स्वच्छन्द निर्माण सेवा काठमाडौंले लिएको ठेक्का ८३ करोडको लागतमा आफूले जिम्मा लिएको ब्ल्याक बक निर्माण कम्पनीका सञ्चालक विमल केसीले बताए ।

विगतको वर्षहरूमा बजेट अभावमा आयोजनाको काम अगाडि बढ्न नसके पनि यस वर्ष आयोजनामा र सिँचाइ विभागमा बजेटको अभाव नरहेको आयोजना प्रमुख देवकोटाले बताए । गत आर्थिक वर्षसम्म अघिल्लो आर्थिक वर्षको बक्यौता तिर्ने रकमसमेत नपुग्ने गरेको थियो । यस वर्षदेखि सरकारले नै बबई सिँचाइ आयोजनाको काम सम्पन्न गर्न योजनाका साथ अगाडि बढेको उनले बताए । नहर निर्माण कार्य शिलान्यास गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नहर आइसकेपछि कृषकलाई धेरै फाइदा हुने बताए । उनले महँगो खर्चमा भूमिगत पानीको प्रयोग गरेर खेती गर्नुपर्ने बाध्यता हट्ने बताए । 

गुलरिया नगरपालिका क्षेत्रमा नहरको पानीले सिँचाइ होला भन्ने सोच्दै नसोचेको गुलरिया नगरपालिका वडा नं १ का विजय यादवको भनाइ छ । उनले भने, ‘तर, अब गुलरियामा पनि खेतीपाती गर्न सजिलो हुने भयो ।’ भूमिगत स्रोतको पानीले मात्र खेती हुने यस क्षेत्रमा नहर आउने भएपछि कृषक हर्षित भएका छन् । गुलरिया नगरपालिकामा निर्माण नहर निर्माण भएसँगै बर्दिया जिल्लाका सम्पूर्ण नगरपालिका सिँचाइयुक्त हुनेछन् । भेरीको पानी बबईमा झारिसकेपछि सिँचाइका लागि पर्याप्त पानी पुग्ने आकलन गरिएको छ ।