कूटनीतिज्ञ भन्छन्– भारतीय नाकाबन्दीका वेला दिल्लीमा नेपाली राजदूत रहेकी शाहले कुशलतापूर्वक भारतसँग सम्बन्ध सञ्चालन गरेकी थिइन्
नेपालको कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । शाहको बिहीबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । नेपालको कूटनीतिक सम्बन्ध सुदृढ गर्न र महिला सशक्तीकरणका लागि योगदान पुर्याएकी उनी लामो समयदेखि बिरामी थिइन् ।
शाह नेपालको परराष्ट्र सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र अमेरिकास्थित नेपाली राजदूतावासमा प्रथम सचिव हुँदै भारतका लागि नेपाली राजदूत थिइन् । भारतीय नाकाबन्दी सुरु हुनुअघि उनी दिल्लीमा जिम्मेवारी सम्हाल्न गएकी थिइन् । उनी चर्चित बैंकर अनिलकेशरी शाहकी आमा हुन् ।
२०१५ सालमा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी उनले भारतका लागि राजदूत भएर स्वदेश फिर्ता भएलगत्तै २०४७ मा अवकाश पाएकी थिइन् । परराष्ट्रको अतिरिक्त सचिव (राजदूतबाट फिर्ता भएपछि पाउने पदोन्नति)बाट शाहले अवकाश पाएकी थिइन् । अहिले अतिरिक्त सचिवको दरबन्दी छैन ।
‘२०४४ सालमा महिलालाई राजदूत बनाउनु निकै ठुलो विषय थियो, त्यसमा पनि अत्यन्तै असहज सम्बन्ध भएका वेला भारतका लागि राजदूतका रूपमा शाहलाई पठाउने सरकारी निर्णय सामान्य थिएन,’ त्यसवेलाका एक वहालवाला मन्त्रीले भने, ‘महिलालाई भारतजस्तो देशमा राजदूत बनाएर पठाउनुहुन्न भन्ने आवाज दरबारमा पनि नउठेको होइन, तर उहाँलाई पठाउन दरबार सहमत भयो । नेपालको परराष्ट्र सम्बन्धको आधुनिक जीवन र उहाँको कूटनीतिक जीवन सँगै सुरु भयो र उहाँले कुलशतापूर्वक जिम्मेवारी पूरा गर्नुभयो ।’
तत्कालीन सरकारले भारतका लागि राजदूत जगदीशशमशेर जबरालाई रुसका लागि राजदूतमा पठाएर शाहलाई भारत पठाएको थियो । ०४७ मा प्रजातन्त्र पुनर्स्थापनासँगै उनलाई सरकारले फिर्ता बोलाएको थियो । त्यसपछि ३० वर्ष सेवावधिमा अनिवार्य अवकाश लागू भएसँगै उनले अवकाश पाएकी थिइन् । शाहपछि सरकारले भारतका लागि राजदूतमा चक्रप्रसाद बाँस्तोलालाई पठाएको थियो ।
‘प्रतिस्पर्धाबाट त्यसवेला परराष्ट्र सेवामा प्रवेश गरेर अमेरिका, बंगलादेश, भारतमा कूटनीतिक सेवा गर्नुभयो । नेपालको भारतसँग कटुता भएका वेला उहाँ कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेर फर्किनुभएको हो । यो नेपालले सधैँ सम्झिरहनुपर्छ,’ पूर्वपरराष्ट्रमन्त्री एवं भारतका लागि पूर्वराजदूत डा. भेषबहादुर थापाले भने, ‘अप्ठ्यारो परेका वेला सरकारले शाहलाई भारतमा राजदूत बनाएर पठाएको थियो । उहाँ कर्मठ, प्रतिबद्ध एवं सबल र सक्षम कूटनीतिज्ञका रूपमा आफूलाई प्रमाणित गर्न सफल हुनुभयो ।’
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले शाहको निधनलाई विलक्षण प्रतिभाको निधन भनेका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको आधुनिक इतिहासमा उल्लेखनीय योगदान भएकी कुशल कूटनीतिज्ञ विन्देश्वरी शाहको निधन नेपालको कूटनीतिक क्षेत्रका लागि अपूरणीय क्षति हो,’ शाह भारतका लागि राजदूत हुँदा श्रममन्त्री रहेका पाण्डेले भने, ‘युवा कूटनीतिज्ञहरूले उहाँबाट संयम, सीप, परिष्कृत लेखाइ र वजनयुक्त बोली कूटनीतिज्ञका लागि आवश्यक छ भन्ने कुरा सिक्नुपर्छ ।’
पूर्वपरराष्ट्रसचिव एवं शाह भारतमा राजदूत हुँदा प्रथम सचिवमा कार्यरत डा. मदनकुमार भट्टराईले अग्रणी महिला पथप्रदर्शक, जुझारू कूटनीतिज्ञका रूपमा शाहलाई सम्झेका छन् । ‘उहाँले राजदूतको सफल भूमिका निर्वाह गर्नुभयो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भ्रमणका वेला उहाँ राजदूत हुनुहुन्थ्यो । पछि गिरिजाबाबु प्रधानमन्त्री हुँदा उहाँको भ्रमणभन्दा अघि उहाँलाई सरकारले फिर्ता बोलायो,’ भट्टराईले भने, ‘उहाँ सहसचिवबाट अतिरिक्त सचिवमा बढुवा हुनुभयो । त्यसवेला उहाँको ब्याचीहरू जयप्रताप राणा र यादवकान्त सिलवाल पनि अवकाशमा पर्नुभयो । तर, अवकाश पाएपछि सिलवाललाई सरकारले करार सेवामा परराष्ट्रससचिव बनायो ।’
उनी नेपालबाट भारतका लागि अहिलेसम्म परराष्ट्र सेवाबाट गएकी अन्तिम करिअर राजदूत हुन् । उनीपछि भारतमा परराष्ट्र मन्त्रालयबाहिरबाट राजदूत नियुक्त भएका छन् । भट्टराईका अनुसार उनी अमेरिका (कोलम्बिया युनिभर्सिटी) बाट स्नातक गर्ने पहिलो नेपाली महिला थिइन् । उनले सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेकी थिइन् । उनी अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि हुन् ।
परराष्ट्र मन्त्रालयको सहसचिवबाट अवकाश पाएका पूर्वराजदूत मधुवन पौडेलले शाहले परराष्ट्रको आन्तरिक अभिलेख प्रणाली व्यवस्थित गर्न भूमिका निर्वाह गरेको बताए । शाह परराष्ट्र मन्त्रालयको भारत शाखा प्रमुख (उपसचिव) हुँदा उनीमातहत पौडेलले शाखा अधिकृतका रूपमा काम गरेका थिए । ‘उहाँको नेपाली भाषाभन्दा अंग्रेजी राम्रो थियो । उहाँको मातहतमा डेढ वर्ष काम गर्दा धेरै सिकेँ । वार्तामा उहाँको प्रस्तुति निकै गहन हुन्थ्यो, हामीले साह्रै काबिल कूटनीतिज्ञ गुमाएका छौँ,’ पौडेलले भने ।
नाकाबन्दीका वेला इन्डिया टुडेलाई जवाफ
व्यापार तथा पारवहन सन्धि नवीकरण नभएपछि नेपालमा २३ मार्च १९८९ देखि भारतीय नाकाबन्दी सुरु भएको थियो । नेपालले विदेशी कामदारलाई श्रम स्वीकृति अनिवार्य गर्दा भारतीय नागरिक पनि परेको, तर भारतले १९५० को सन्धिअनुसार त्यसो गर्न नमिल्ने तर्क गरेको थियो । चीनबाट नेपालले एन्टी एयरक्र्याफ्ट गन खरिद गरेपछि भारत झन् चिढिएको थियो । त्यही वेला राजदूत रहेकी शाहले ३० अप्रिल १९८९ मा इन्डिया टुडेलाई दिएको प्रतिक्रियामा नेपालले भारतीय कामदारलाई मात्र नभएर नेपालमा कार्यरत सबै विदेशीलाई श्रम स्वीकृतिको प्रावधान लागू गरेको बताएकी थिइन् । ‘नेपालमा कार्यरत भारतीयहरूलाई कतै पनि विभेद छैन, श्रम स्वीकृति सबै विदेशीहरूलाई लागू हुन्छ,’ उनको प्रतिक्रिया थियो । भारतले नेपालसँगको सम्बन्धमा पुनर्विचार र पुनर्संरचना गर्ने प्रतिक्रिया दिएको जवाफमा शाहले भनेकी थिइन्, ‘यदि मनमुटावहरू छन् भने लामो समय मनमुटाव नजाने गरी नयाँ ढाँचामा हामीले काम गर्नुपर्छ । सम्बन्धमा पुनर्संरचना गर्ने भारत सरकारले जसरी स्पष्ट पारेको छ, त्यसलाई हामीले स्वागत गरेका छौँ ।’