प्रधानमन्त्री केपी ओलीलाई भेट्दै २५ मार्चमा दशरथ रंगशालामा मलेसियाविरुद्धको ‘होम म्याच’को वातावरण बनाउन कप्तान किरणकुमार लिम्बूको आग्रह
नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रधानमन्त्री केपी ओलीलाई दशरथ रंगशालामा नेपाल र मलेसियाबिचको ‘होम गेम’ गराउने वातावरण मिलाउन आग्रह गरेका छन् । एएफसी एसिया कपअन्तर्गत छनोट खेल आगामी २५ मार्चमा नेपालले मलेसियाविरुद्धको दशरथ रंगशालामा खेल्ने तालिका छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा हुने खेल मलेसियामा सार्ने तयारी गरेपछि कप्तान किरणले छनोट चरणको पहिलो खेल रंगशालामै हुनुपर्ने आफ्नो धारणा प्रधानमन्त्री ओलीसमक्ष राखेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार प्रधानमन्त्री ओली र कप्तान किरणबिच भेट भएको हो ।
‘मैले प्रधानमन्त्रीसँग भेटेको हुँ, अहिलो प्रतिस्पर्धाको विषयमा वैकल्पिक रंगशालाको कुरा उठिरहेको छ, मैले उहाँसमक्ष होम गेम नेपालमै हुने वातावरण बनाइदिन अनुरोध गरेको छु,’ किरणले नयाँ पत्रिकासँग भने, ‘हामीले घरेलु मैदानमा खेल नखेलेको धेरै भइसकेको छ । त्यसैले पनि अनुरोध गर्न पुगेको हुँ ।’
प्रधानमन्त्री ओलीले प्रतियोगिता आयोजना गराउन सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धता दिएको किरणले बताए । ‘दशरथ रंगशालामा हुनुपर्ने खेल आयोजना गराउन म सम्बन्धित निकायसँग छलफल गर्छु,’ ओलीको भनाइ उद्धृत गर्र्दै कप्तान किरणले भने, ‘अहिलेसम्म कति काम भइरहेको छ, यो पनि बुझनेछु ।’
एएफसी एसिया कप २०२७ अन्तर्गत छनोटको समूह ‘एफ’ मा नेपालले मलेसिया, भियतनाम र लाओसविरुद्ध होम एन्ड अवे खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालभन्दा मलेसिया र भियतनाम बलिया राष्ट्र हुन् । एसियन फुटबल परिषद्ले आयोजक एन्फासँग ‘होम म्याच’ सञ्चालकन गर्न तयार पारेको खाका मागेको छ । तर, एन्फाले एएफसीलाई केही जवाफ पठाएका छैन । नेपालले सन् २०२६ मार्चमा लाओससँग होम म्याच खेल्ने तालिका छ ।
मलेसिया एएफसीसँग वार्ता गर्दै एन्फा
एन्फाले एएफसीसँग सम्पर्क नगरी सीधै मलेसियन फुटबल संघसँग ‘होम म्याच’ आयोजना गर्न छलफल गरेको एन्फाको स्रोतले जानकारी दिएका छन् । ‘अहिले दशरथ रंगशाला मैदानको अवस्था राम्रो छ, के–कति कारण हो एन्फा यहाँ मलेसियाविरुद्धको होम खेल गराउने पक्षमा छैन,’ स्रोतले भने, ‘नेपालमा खेल नगराउने योजनामा संस्थापन पक्ष छ, अब एएफसीले यसको अन्तिम निर्णय लिनेछ ।’ यसअघि पनि एएफसीले दशरथ रंगशालाको दुबो, माटो सतह, फ्लडलाइट र सुरक्षाको कारण देखाउँदै फिफा विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना गर्न दिएको थिएन । राष्ट्रिय खेलकुद परिषद्ले मैदानको व्यवस्थापन आफैँले लिएपछि यसमा सुधार गरियो । चार महिनाको मिहिनेतपछि रंगशालामा नेपालको चर्च ब्वाइज र भुटानको एएफसी पारोबिच खेल भयो ।
‘होम म्याच’ बाहिरै
एन्फाको वर्तमान नेतृत्व पक्षले दशरथ रंगशालामा हुनुपर्ने अन्तर्राष्ट्रिय फुटबल खेल तटस्थ भूमिमा सारेका थिए । मैदानको कमजोर कारण देखाउँदै ती पदाधिकारीले लेनदेनमा लाभ लिने उद्देश्यका साथ सम्बन्धित देशलाई नै फुटबल गराउन अनुरोध गरेका थिए । विगतमा भएका त्यस्ता घटनामाथि छानबिन गर्न एन्फा पदाधिकारीविरुद्ध राखेपमा उजुरी परेको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई नै पत्राचार गरे पनि एन्फाका पदाधिकारीको बारेमा निर्णय भएको छैन । बहराइनको खेल बहराइन र युएईको खेल साउदी अरेबिया लगिएको थियो ।
लाँकुरीभन्ज्याङमा मैदान खोज्दै एन्फा महासचिव
दशरथ रंगशालामा नेपाल र मलेसियाबिचको होम खेल व्यवस्थापन ध्यान केन्द्रित नगरी एन्फा महासचिव किरण राई सोमबारै लाँकुरीभन्ज्याङ–१० मा स्थानीय तहले बनाएको रंगशाला निरीक्षणमा पुगेका छन् । ‘नेपाली फुटबलको विकासमा देखिएको देशैभरिको यो सक्रियता र माया गर्नेप्रति नमन,’ उनले सोसल मिडियामा लेखेका छन् ।
खेलाडी नपुगेपछि खुमलटार मैदानमा गएन
खेलाडी संख्या नै नपुगेपछि खुमलटार एफसी सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदान नै उत्रिएन । ललित स्मृति एन्फा यू–१८ लिगको अन्तिम खेलमा खुमलटारले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्ने तालिका थियो । खुमलटारसँग खेल्ने ११ खेलाडी नहुँदा मैदान प्रवेश गरेन । आयोजक एन्फाले विपक्षी आर्मीलाई ३–० को जित सुनायो । खुमलटारका अध्यक्ष मणिराज विष्ट एन्फाका केन्द्रीय सदस्य हुन् । प्रतियोगिताको नियमावलीअनुसार कुनै पनि टोली मैदान नगएको अवस्थामा विपक्षीलाई सीधै ३–० को जितसहित तीन अंक दिने प्रावधान छ । दिउँसो १२ बजे आर्मीका खेलाडी समयमै मैदान पुगेका थिए । तर, खुमलटारका खेलाडी उपस्थित नभएपछि खेल सुरु हुन पाएन । नेपाल पुलिसले लिगको उपाधि एक खेलअघि जितेको थियो ।
खुमलटारका प्रशिक्षक सन्दीप खड्काले मकवानुपरमा भएको बागमती प्रदेशस्तरीय लिग खेल्न आफ्ना खेलाडी जाँदा टिममा खेलाडी अभाव भएको बताए । ‘२७ मध्ये १९ खेलाडी सिन्धुपाल्चोकका थिए । दोस्रो चरणमा १० खेलाडी सुरुमै आएनन् । दोस्रो चरणमा यु–१८ लिग खेलिरहेका ७ खेलाडी हेटौँडा हिँडेपछि टिम नै अपुग भयो ।’