१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
एजेन्सी जेरुसेलम
२o८१ भदौ १० सोमबार १२:१७:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायलले लेबनानमा गर्‍यो प्रतिरक्षा हमला

Read Time : > 1 मिनेट
एजेन्सी, जेरुसेलम
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १२:१७:oo

इजरायल सेनाले आफूमाथि हुन सक्ने ठुलो स्तरको हमलाको प्रतिरक्षामा लेबनानका विभिन्न ठाउँमा रहेका हिज्बुल्लाहका निसानामा हमला गरेको छ । इजरायलले उत्तरी र मध्य इजरेललाई निसाना बनाइएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरलाई ध्वस्त बनाइदिएको दाबी गरेको छ । बिबिसीका अनुसार इजरायलले दक्षिण लेबनानका ४० वटा प्रक्षेपणस्थललाई निसाना बनाएको छ । जसका लागि करिब १०० वटा विमान प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाले प्रतिरक्षाका लागि इजरायलले गरेको हमलाको समर्थन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम प्रहार नभएको’ चेतावनी दिएका छन् । 

यसैबीच हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरायलतर्फ तीन सय रकेट प्रहार गरेको जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले तीनजना मारिएको जानकारी दिएको छ ।

लेबनानसँगको बढ्दो तनावबीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ । यसले इजरायली रक्षा बल (आइडिएफ)को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्ध जारी गर्न सहज हुने जनाइएको छ । मन्त्रिपरिषद्ले विस्तार नगरेसम्म संकटकालको अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलको रक्षा बलले हिजबुल्लाहको रकेटले ‘धेरै थोरै क्षति’ गरेको बताएको छ ।

इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका साथ रहन भनिएको छ । आइतबार बिहान इजरायली डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका थिए । 

एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, ‘हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ, हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।’ ‘आइडिएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,’ उनले भने ।

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमान्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध इजरायलले कडा प्रतिशोधको तयारी गरेको हो । इजरायल प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा क्याबिनेटको आपत्कालीन बैठक बोलाएका छन् । नेतन्याहुको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्री योआभ गालान्टले तेलअभिबमा रहेको आइडिएफको सैन्य शिविरलाई ‘व्यवस्थापन’ गरिरहेको बिबिसीले उल्लेख गरेको छ । यसैबीच, ब्रिटिस एयरवेज (बिए)ले इजरायल र हिजबुल्लाहबिचको तनावबिच तेलअभिब जाने र आउने उडान स्थगित गरेको छ ।

इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेलअभिब र बेरुतका लागि निर्धाति उडान निलम्बन गरेको छ । फ्रान्सेली वाहक एयर फ्रान्सका प्रवक्ताले भने, ‘आज र भोलि उडान निलम्बन गरिएका छन् ।’ उनले मध्यपूर्वको अवस्थाका आधारमा निलम्बनलाई विस्तार गर्न सकिने बताए ।