१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ८ शनिबार २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरका ५२ हजार बालबालिकाले लगाए पोलियो खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार २o:१४:oo

उपत्यकाका खाेलामा पोलियो भाइरस देखिएपछि सुरु गरिएको विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ललितपुरमा ५२ हजार ६१८ बालबालिकाले पोलियो खोप लिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार ९ देखि १५ साउनसम्म सञ्चालन गरिएको विशेष खोप कार्यक्रम जिल्लाका ६ वटै पालिकाबाट सञ्चालन भएको थियो।

सबै पालिकामा स्वास्थ्यकर्मी परिचालन गरेका कारण लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका छन्। जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार उपत्यकाको खोलाको पानीमा पोलियो भाइरस देखा परेपछि सरकारले तीन जिल्लामा विशेष खोप अभियान सञ्चालन गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको टुकुचाको पानीमा पोलियो भाइरस देखिएको जनाएको थियो। टुकुचाको पानी परीक्षण गर्दा असारमा पोलियो भाइरस भेटिएको हो। तर, त्यसयता जाँच गर्दा भाइरस भेटिएको छैन। 

जिल्लामा सबैजसो बालबालिकालाई माइकिङ तथा घरघरमा पुगेर पोलियो खोप प्रदान गरिएको छ। ‘जिल्लामा नछुट्ने गरी खोप कार्यक्रम सम्पन्न भयो, यदि कोही छुट्नुभएको भए नजिकको स्वास्थ्य चौकीमा पुगेर अझै पनि खोप लिन सकिन्छ,’ डा. भुवन पौडेलले भने, ‘जनगणनाको तथ्यांकको आधारमा खोप कार्यक्रमको लक्ष्य राखिएको थियो, तर बसाइसराइका कारण ललितपुरमा धेरै बालबालिकाले खोप लगाएको हुन सक्छ।’ उनका अनुसार जनस्वास्थ्य कार्यालयले डेंगु र हैजा नियन्त्रणको लागि अभियान सञ्चालन गर्दै आइरहेको छ। हालसम्म जिल्लामा ४६ जनामा हैजा देखिएको छ।